कानुन मिचेपछि खेलाबैला

कानुन मिचेपछि खेलाबैला

कर्मचारी छनोट प्रक्रिया विधिसम्मत नगराई आफन्त भर्ना गरेपछि रुकुम पश्चिमको त्रिवेणी माध्यमिक विद्यालय सिम्रुतुमा खैलाबेला मच्चिएको छ । विद्यालयले सूचना प्रकाशन नगरी, प्रतिस्पर्धाबिनै भागबन्डाको आधारमा एकै पटक चार जना कर्मचारी भर्ना गरेको हो ।

प्राप्त जानकारीअनुसार गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीका भतिजा विजयलाई खेलकुद शिक्षकमा नियुक्त गरिएको छ भने प्रधानाध्यापक डिल्ली मल्लका नातेदार संगम चन्दलाई प्रयोगशाला शिक्षक बनाइएको छ ।

त्यसैगरी, वडा नम्बर १ का अध्यक्ष मोहनकिशोर ओलीको आफन्ती मीना केसीलाई कार्यालय सहायक पदमा भर्ना गरिएको छ भने नेकपाका जिल्ला सदस्य लक्ष्मण ओलीकी श्रीमती प्रतीक्षालाई पुस्तकालय सहायक तोकिएको छ ।

यस विषयमा विप्लव नेतृत्वको अनेरास्ववियु क्रान्तिकारीले समेत विरोध गर्दै विज्ञप्ति जारी गरेको छ । संगठनका अध्यक्ष प्रेम प्रशान्त बोहराद्वारा जारी विज्ञप्तिमा गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीले यसअघि पनि बुहारी कृष्णा पुनलाई सिम्रुतु स्वास्थ्य चौकीमा अनमी पदमा सीधै भर्ना गरेको भन्दै विरोध गरिएको छ ।

समाचार स्रोतका अनुसार सूचना पाटीमा एकछिन विज्ञापनको सूचना टाँसेर च्यातिएको थियो । माग गरिएका चार वटै पदमा एक/एक जनाको मात्रै निवेदन परेको थियो । योजनाबद्ध रूपमा आफन्त भर्ना गर्ने गरी गरिएको छनोट प्रक्रियाअनुसार एक पदमा एक जनाको परीक्षासमेत लिइएको थियो । यस विषयमा भने स्थानीय प्रशासनले खासै चासो देखाएको छैन ।

टिप्पणीहरू