प्रहरीको दादागिरी कि यातायातकर्मीको अटेरी ?

प्रहरीको दादागिरी कि यातायातकर्मीको अटेरी ?

भन्नलाई त मुस्कानसहितको प्रहरी सेवा भनिएको छ । तर ड्युटीमै खटिएका प्रहरी कर्मचारीले बर्दीको आडमा ‘सिंगल, सिंगल आइज लड्छु, गाडीको टायरमुनि हालिदिन्छु, सार्वजनिक मुद्दा चलाइदिन्छु’ भन्दै नागरिकलाई धम्क्याउने, दादागिरी देखाउने गरेको सुनिन्छ । के हो कुरा ?

कार्तिक २७ गते बिहीबार दिउँसो १२/१ बजेको समय । चितवनमा सवारी चाप बढी हुने नारायणगढ, पुलचोकको ठाउँ । ना ५ ख ८५२ नम्बरको नीलो रंगको एउटा लामो बस पुलचोकको मुखैमा रोकिएको झन्डै एक घन्टा भइसक्यो, जसका कारण बाह्रघरेतिरबाट न्युरोड हुँदै आउने–जाने गाडीहरु जाममा फसेका छन् । ट्राफिक प्रहरी र यातायातकर्मीबीच त्यहाँ कुरो मिलिरहेको थिएन ।

भएको के भने नारायणी यातायात व्यवसायी संघद्वारा सञ्चालित बसलाई ड्युटीमा खटिएका ट्राफिक प्रहरीले कागजपत्र माग्दै चिट काटिदिएछन् । गाडीका स्टाफले ‘हाम्रो गल्ती नै छैन, सबै कागजपत्र छ, किन चिट काटेको रु’ भनी प्रतिवाद गर्दा विवाद बढ्दै गएपछि चिट काट्ने प्रहरी जवान छेवाङ लामाले त्यसरी दादागिरीको शैलीमा चालक र गाडीधनीलाई धम्क्याएको बताइएको छ । त्यसैको विरोधमा गाडीका स्टाफले त्यहाँबाट बस हटाइरहेका थिएनन् । विवाद र भीड बढेपछि अन्य केही प्रहरीसमेत त्यहाँ आएका थिए । छेवाङ लामाले माफी नमागेसम्म गाडी नहटाउने यातायातकर्मी बताउँदै थिए । कारबाहीका लागि भन्दै यो चिट काटेर भरतपुर एयरपोर्ट अगाडि जिल्ला ट्राफिक प्रहरी कार्यालयमा बोलाई पन्ध्रसय असुल्न खोजिएको उनीहरुको भनाइ थियो ।

चिट काट्नुको कारणबारे सोध्दा लामाले ‘ट्राफिक नियम पालना नगरेको’ भन्नेमात्रै जवाफ दिए । पछि अर्का ट्राफिक प्रहरीसँग ‘गाडीको गल्तीचाहिँ के थियो र रु’ भनी बुझ्दा ‘रोक्न नमिल्ने ठाउँमा रोकेको’ कारण चिट काटेको छेवाङले बताएको उनले बताए । त्यही बेला गाडीका स्टाफ कृष्ण मिश्रले ट्राफिक प्रहरीले नै चलिरहेको गाडी रोक्न लगाएपछि आफूहरुले रोकेको बताए । न्युरोडकै एक ग्यारेजमा टायर पन्चर लगायत सर्भिसिङ गरेर निस्कँदै गर्दा ट्राफिकले रोकेको बताइएको छ । ३ बजे महेन्द्रनगर हिँड्नुपर्ने गाडी पालो लगाउन क्यान्सर बसपार्क जान खोज्दा ट्राफिकले त्यत्तिकै रोकेर चिट काटेको चालक नुरबहादुर ठकुरी बताउँछन् । ‘बाटोमा गाडी हिँड्न नपाउने रु’ यातायातकर्मीहरुको प्रश्न छ । यहाँ पम्पमा तेल हाल्न जाँदा, गाडी घुमाउँदा पनि ट्राफिक प्रहरीले चिट काटेर हैरान पार्ने उनीहरुको गुनासो छ ।
पछि यसबारे जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टसँग सम्पर्क राख्दा उनले भने, ‘त्यो चालकले गाडी घुमाएको घुमायै गरेर रोड डिस्टर्ब गरेपछि ट्राफिक प्रहरीले कारबाही गर्दा उसले बाटोमा सवारी साधन छोडेर हिँड्यो, पछि हामीले त्यसलाई तानेर लगी कारबाही गरेर पठाइसक्यौं ।’ ट्राफिक प्रहरीले दादागिरी देखाएको भन्ने जिज्ञासामा उनी भन्छन्, ‘त्यो नचाहिँदो कुरा हो, हामीले त्यहाँ पुलचोक एरियामा रोड अस्तव्यस्त पार्ने सवारी साधनहरुलाई कडाइका साथ कारबाही गरिराछौं, त्यसैले त्यहाँका केही सीमित मान्छेहरुले ट्राफिक प्रहरीविरुद्ध नचाहिँदो हल्ला चलाउँदैछन् ।’ उनका अनुसार छेवाङ राम्रो काम गर्ने मान्छे हुन्, कारबाहीमा खरो उत्रिएपछि उनको बदनाम गर्न खोजिएको हो ।

– अजय गोर्खाली

टिप्पणीहरू