काठमाडौंमा लकडाउन, हैदराबादमा भ्याक्सिन
रुसले आविष्कार गरेको कोभिड–१९ बिरुद्धको स्पुतनिक भ्याक्सिन भारतको दक्षिणी शहर हैदराबाद पुगेको छ । अमेरिका,चीन,बेलायत र स्वयम् भारतसमेत कोभिड–१९ बिरुद्धको प्रभावकारी भ्याक्सिन सबैभन्दा पहिले बनाउने होडमा लागेका छन् । तर, दुई चरणको सफल परीक्षण गरेर अन्तिम चरणमा रहेको भनिएको स्पुतनिक भ्याक्सिनलाई विश्वका धेरैजसो देशमा पुर्याउने क्रम रुसले अघि बढाएको छ । त्यहि सिलसिलामा उक्त भ्याक्सिन यतिखेर हैदरावाद पुगेको हो । भारत अहिले संक्रमित संख्याको आधारमा विश्वको दोस्रो कोरोना संक्रमित मुलुक बनेको छ ।
यता,नेपालमा पनि पछिल्लो केही महिनादेखि संक्रमित र मृत्यु हुनेहरुको संख्या बढिरहेको छ । त्यसमध्ये राजधानी काठमाडौं उपत्यकामा मात्रै कूल संक्रमित संख्याको आधाभन्दा बढी देखिएकाले अवस्था भयावह हुने आँकलन गर्दै उपत्यका मेयर फोरमको हालैको बैठकमा कडा लकडाउनको प्रस्ताव गरिएको छ । बैठकले औपचारिक निर्णय नगरेपनि अनौपचारिक बैठकको निश्कर्षमा छठ पर्वपछि कम्तिमा तीनदेखि चार हप्तासम्म कडा लकडाउन गरेर संक्रमणलाई थप फैलनबाट रोक्नुपर्ने उल्लेख छ ।
बुधबार भएको फोरम र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकमा उपत्यका भित्रिने सबै नाकामा कडा सुरक्षा व्यवस्था गरी प्रभावकारी हेल्थ डेस्कको स्थापना गर्नुपर्ने बताइएको थियो । बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले यहि अवस्था रहेमा चाड पर्वपछि थप सल्लाह र सुझावबमोजिम केही थप कदम चाल्न सकिने बताएका थिए । लकडाउन गर्न मेयरहरुले चर्को माग गरेको अवस्थामा गृहमन्त्रीको धारणा सोसम्बन्धमा भने स्पष्ट नरहेको बताइन्छ । उनले लटरपटर भाषामा मेयरहरुको मागलाई सम्बोधन गरेका थिए ।
बैठकमा सीसीएमसीको तर्फबाट उपत्यकाको कोभिड १९ को अवस्थाको बारेमा कार्यपत्र नै प्रस्तुत गरिएको थियो । कार्यपत्रमा आपूर्ति व्यवस्था सहज बनाउनुपर्ने,कोरोनाको दोस्रो लहर आउन नदिन स्थानीय निकायहरुले प्रभावकारी पहल गर्नुपर्ने, समुदायका स्थानीय क्लब तथा सामाजिक संघ संस्थाहरुलाई परिचालन गर्नुपर्ने र प्रचार प्रसार कार्यलाई तीब्र बनाउनुपर्ने उल्लेख थियो ।
त्यसैगरी,उपत्यका छिर्ने सबै नाकामा हेल्थ डेस्क राख्नुपर्ने, जनचेतनामूलक कार्यलाई प्रभावकारी ढंगले सञ्चालन गर्नुपर्ने, स्थानीय निकाय परिचालित भई घरदैलो कार्यक्रम गर्नुपर्ने, कोरोना संक्रमितहरुको मृत्युदर घटाउन आवश्यक पहल गर्ने, सामान्य लक्षण भएकालाई घरमै आइसोलेशनमा बस्न लगाउने तर गम्भीर लक्षण भएकालाई मात्र अस्पतालमा उपचार गर्ने वातावरण मिलाउने समेत भनिएको थियो ।
बैठकमा सबै संक्रमितलाई अस्पताल लैजाँदा अस्पतालले बिरामीको चाप थेग्न नसक्ने विषय उठेको थियो । साथै त्यस्तो अवस्थामा गम्भीर लक्षण भएका बिरामीले बेलैमा उपचार पाउन नसक्ने हुँदा परिस्थिति भयावह हुने भएकाले त्यसतर्फ विशेष पहल गर्नुपर्नेसमेत बताइएको थियो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।
टिप्पणीहरू