बलात्कार गर्न खोजेको भन्दै पुरुषको हत्या गर्ने महिला जेलमा
बलात्कार गर्ने खोज्ने एक पुरुषको प्रतिकारका क्रममा हत्या गरेको भन्दै धनकुटा जिल्ला अदालतले महिलालाई पुर्पक्षका लागि जेल चलान गरेको छ ।
धनकुटा जिल्ला अदालतका न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासले २३ कार्तिकमा महालक्ष्मी नगरपालिका–१ घुमाउने गाउँमा बस्दै आएकी ३० बर्षीया कमला गुरुङलाई बलात्कारको प्रतिकार गर्ने बहानामा पुरुषको नियतवश हत्या गरेको आरोपमा पुर्पक्षका लागि जेल चलान गरेको हो ।
२७ असोज राती ११ बजेतिर ढोका फोरेर घरभित्र पसेर बलात्कार गर्ने प्रयास गरेको भन्दै प्रतिकार गर्ने क्रममा स्थानीय ३५ वर्षिय लीलबहादुर गुरुङको हत्या गरेकी थिइन । कमलाले दैलाको आग्लो र धारिलो खुकुरी प्रहार गरेर हत्या गरेकी थिइन ।
प्रतिकारका क्रममा कमलाले एक भन्दा बढी हतियार प्रयोग गरेर लीलबहादुरमाथि प्रहार गरेको र घटनालाई ढाकछोप गर्न गोप्य राखेकोले उनले सतित्व रक्षाका लागि मात्र प्रतिकार नगरेको बरु मनसायसहित लीलबहादुरको हत्या गरेको अदालतको निष्कर्ष छ ।
मुलकी अपराध संहिता ऐन २०७४ अनुसार आफ्नो जीउज्यान र धनसम्पत्तीको रक्षाका लागि कसैको हत्या भएमा अपराध नठहरिने उल्लेख छ । तर कमलाले पहिले दैलाको आग्लो र त्यसपछि खुकुरीले पटक पटक प्रहार गरेकोले उनले सतित्व रक्षाका लागि मात्र नभएर मनसायसहित आक्रमण गर्दा गुरुङको ज्यान गएको अदालतको जिकिर छ ।
श्रीमान वैदेशिक रोजगारमा गएपछि छोराछोरीसँग बस्दै आएकी कमलालाई छिमेकी लिलबहादुरले मध्यराती घरभित्र छिरेर बलात्कार गर्ने प्रयास गरेका थिए । सोही क्रममा लिलबहादुरले राती मादक पदार्थ खाएर कमलाको घरको ढोका खोल्न दबाब दिएका थिए । बलात्कार गर्न आएको थाहा पाएपछि कमलाले पहिले दैलोको आग्लो र त्यसपछि घरमा राखेको खुकुरीले लिलबहादुरको टाउकोमा प्रहार गरेकी थिइन । तर उनले आफूलाई बलात्कार गर्न आउँदा कसैलाई आक्रमण गरेको घटना गोप्य राखेकी थिइन ।
बलात्कार प्रयास गर्ने क्रममा महिलाले आग्लो र खुकुरी प्रहार गरेपछि खप्न नसकेर सख्त घाइते भै भागेका लिलबहादुरको शव स्थानीय लाहुरे खोल्सीमा भोलिपल्ट बिहान फेला परेको थियो ।
स्थानीय मारेकटहरे इलाका प्रहरी कार्यालयबाट गएको टोलीले शंका लागेर अनुसन्धानका लागि महिलालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी धनकुटा ल्याएको थियो ।
प्रारम्भिक अनुसन्धानमा कमलाले आफूलाई बलात्कार प्रयास गरेकोले आत्मरक्षाका लागि लिलबहादुरलाई खुकुरीले टाउकोमा प्रहार गरेर घाइते बनाएपछि आफू बलात्कृत हुनबाट जोगिएको वयान दिएकी थिइन ।
लिलबहादुरका आफन्तले भने नियोजित रुपमा हत्या भएको भन्दै कर्तव्य ज्यान मुद्धामा कमलाविरुद्ध किटानी जाहेरी दिएका थिए ।
आषिका लम्सालबाट
टिप्पणीहरू