ट्राफिकलाई लोभ्याउनेहरू ठहरै
नियमविपरित सवारी साधन हाँक्ने र प्रचलित कानुन उल्लंघन गर्ने चालकहरूले उम्किनको लागि दिएको आर्थिक प्रलोभनलाई वास्ता नगर्ने बागमती प्रदेशका सातवटा ट्राफिक प्रहरी कार्यालयले २ लाख ४९ हजार रूपैयाँ सरकारी कोषमा जम्मा गरेका छन् । जबकि उक्त रकम नउठाउन २ सय ३४ जना चालकले ४३ हजार ९ सय २० रूपैयाँको आर्थिक प्रलोभन देखाएका थिए ।
प्राप्त विवरणअनुसार बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय,रामनगर,चितवनलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने १ सय ७० जना चालकले २१ हजार ९५० रूपैयाँ प्रलोभन देखाएका थिए भने प्रहरीले आवश्यक कारबाहीपछि उठाएको जरिवाना रकम १ लाख ७२ हजार पाँच सय देखिन्छ । त्यसैगरी,जिल्ला ट्राफिक प्रहरी कार्यालय,चितवनले पनि ५ जना चालकबाट १ हजारको सट्टा ५ हजार, जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङ्गले ३ जनाबाट ३ सयको सट्टा ३ हजार ५ सय रूपैयाँ जरिवानावापत उठाएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुरले ३७ जनाबाट १० हजार ९ सय ७० को सट्टा ३४ हजार ५ सय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, नुवाकोटले २ जनाबाट २ सयको सट्टा २ हजार, जिल्ला ट्राफिक प्रहरी कार्यालय,रामेछापले ९ जनाबाट ६ हजार १ सयको सट्टा २० हजार र जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिन्धुलीले ८ जनाबाट ४ हजार २ सयको सट्टा ११ हजार ५ सय गरी कूल २ लाख ४९ हजार रूपैयाँ राजश्व उठाएको अभिलेख छ ।
टिप्पणीहरू