चित्रबहादुर केसीको उपचार, जेठो छोराको चित्कार

चित्रबहादुर केसीको उपचार, जेठो छोराको चित्कार

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार र उनको स्वास्थ्य स्थितिको बारेमा सामाजिक सञ्जाललगायत विभिन्न सञ्चार माध्यममा भ्रमपूर्ण खबरहरु बाहिरिएका छन् । ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत केसीको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले ब्यहोर्ने निर्णय गरिसकेको छ । उता,जनमोर्चाले पनि बैंक खाता खोली चन्दा संकलनको लागि आह्वान गरेको छ भने केसीका जेठा छोराले बाबुको स्वास्थ्य स्थिति खराब नरहेकोले कसैले पनि चन्दा नउठाउन भन्दै सामाजिक सञ्जालमा अनुरोध गरेका छन् ।

अस्पतालमा केसीलाई परिवारका सदस्यलगायत अन्य कसैसङ्ग पनि भेट्न नदिइएको पारिवारिक स्रोतले नै बताएको छ । डा. सन्जीव श्रेष्ठको नेतृत्वमा रहेको उपचार टोलीले केसीको स्वास्थ्य रेखदेख गरिरहेको छ । उनलाई अस्तिदेखि रेम्डिसेभेर औषधि दिन थालिएको छ । केसी निमोनिया र अन्य दीर्घरोगबाट लामो समयदेखि पीडित थिए र, भैरहवास्थित छोरी भानु केसीको घरमा एक महिनादेखि बस्दै आएका थिए । त्यहि बेला स्वास्थ्य समस्या जटिल हुँदै गएपछि काठमाडौं ल्याई मेडिसिटीमा भर्ना गरिएको हो । यसबीच गरिएको केसीको स्वाब परीक्षणमा कोभिड–१९ पोजिटिभ देखिएको छ ।

तर,अस्ति साँझदेखि उनको स्वास्थ्यमा केही सुधार आएको बताइन्छ । यद्यपि पेटको दीर्घरोग र निमोनियाको कारण उपचार लम्बिनसक्ने चिकित्सकहरुले पारिवारिक सदस्यहरुलाई जानकारी गराएका छन् । केसीको उपचार,स्वास्थ्य अवस्था र उपचार खर्चको बारेमा पार्टी,सरकार,स्वदेश र विदेशमा रहेका परिवारका सदस्यहरुबीच देखिएको विवादले सामाजिक सञ्जाल रंगिएको हो ।

जनमोर्चाले उहाँको उपचारका बारेमा ‘स्टेप बाइ स्टेप’ निर्णय लिइरहेको जनाएको छ । सर्वसाधारणमा कुनै भ्रम नपरोस् भनेर दुई दिनमा तीन वटा वक्तव्य जारी गरिएको पनि उसले बताएको छ । तर आफूहरुलाई पार्टीकै हौं भन्दै एउटा अराजक समूहले उहाँको उपचार सहयोगबारे व्यापक भ्रम उत्पन्न गराउने काम गर्नुलाई मोर्चाले अपराधिक र निन्दनीय कार्य भनेको छ ।

जापानमा बस्दै आएका जेठा छोरा र सामाजिक सञ्जालका केही प्रयोगकर्ताहरुले उहाँको उपचार खर्च र स्वास्थ्यबारे कुनै जानकारी नै नलिई गरेको प्रचार मिथ्या र भ्रम मात्र रहेको बताइएको छ ।

मोर्चा उपाध्यक्ष दुर्गा पौडेल,केसीकी छोरी भानु केसी,भतिज हिरा केसी,भतिजी ऋतु केसीले हिजो चित्रबहादुरको पछिल्लो अवस्थाको बारेमा अस्पतालका प्रमुख कार्यकारी अधिकृतसँग भेटेर जानकारी लिएका थिए । आफूहरु बाहेक अरुलाई केसीको वास्तविक अवस्थाको जानकारी नरहेको बताउँदै उनीहरुले परिवारसँग कुनै सम्पर्क नगरी जापानमा बस्दै आएका जेठा छोरा र सामाजिक सञ्जालका केही प्रयोगकर्ताहरुले उहाँको उपचार खर्च र स्वास्थ्यबारे कुनै जानकारी नै नलिई गरेको प्रचार मिथ्या र भ्रम मात्र रहेको बताइएको छ ।

केसी बिरामी हुँदासमेत विभिन्न अन्तरबिरोध सिर्जना गर्न खोजिएको भन्दै जनमोर्चाले उक्त कार्यलाई निकृष्ट अपराधिक धन्दाको संज्ञा दिएको छ । त्यस्तो धन्दामा पार्टीका समर्थकहरुसँगै परिवारका सदस्य समेत लागेको देखिएकाले आफूहरुलाई ग्लानी महसुस भएको जनमोर्चाका नेताहरुले बताएका छन् । जनमोर्चाका अनुसार ‘त्यसप्रकार अन्तरबिरोध सिर्जना गर्ने अपराधीहरुले सुको सहयोग नगर्ने,सरकारले केसीको उपचारमा सहयोग गर्ने बताएको र पार्टीले पनि उक्त सहयोग लिने निर्णय गरेकाले आपराधिक तत्वहरुको धन्दा समाप्त भएको छ ।’

टिप्पणीहरू