इलाको बिल्ली, हरायो नपुग्दै दिल्ली
पूर्व निर्वाचन आयुक्त इला शर्माको बिरालो गोरखपुरको रेल स्टेशनबाट हराएको छ । भारतीय पूर्व प्रमुख निर्वाचन आयुक्त एस वाई कुरेशीसँग दोस्रो विवाह गरेकी शर्माले काठमाडौंबाट नयाँ दिल्ली जाने क्रममा साथमा लगेको बिरालो गत बुधबार गोरखपुरको रेल स्टेशनबाट एकाएक गायब भएको थियो । आफ्नै देशका पूर्व प्रमुख निर्वाचन आयुक्त र नेपालकी पूर्व निर्वाचन आयुक्तको बिरालो स्टेशनको ६ नम्बर प्लेटफर्मबाट हराएको सूचनाले गत हप्ता गोरखपुर रेलस्टेशनका रेलवे प्रहरी बल र गोरखपुर रेलवे बलका अधिकारीहरूबीच तहल्का मच्चाएको थियो ।
हिबर नामको बिरालो खोजीमा गोरखपुर रेलवे प्रशासन र सुरक्षाकर्मी रातभर खटेपनि पत्तो नलागेको बताइन्छ । स्थानीय प्रहरीले उमेरले बुढ्यौली भएपनि नव दम्पत्तिको बिरालो खोजीमा कुनै कसर बाँकी नराखेको बताएको छ । प्रहरीले स्टेशन वरिपरि टाँसेको हिबरको पोष्टमा ‘कसैले भेटेमा वा देखेमा सुरक्षा निकाय तथा स्थानीय निकायलाई तुरुन्त सूचित गर्न’ भनेको छ ।
हिबर हराएपछि निकै भावुक बनेकी बिरालोको मालिक्नी शर्माले पनि रेल स्टेशनको चारैतिर हिबरको फोटो टाँसेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । हराएको बिरालो भेट्टाएमा आफ्नो मोबाइल नम्बरमा खबर गर्न अनुरोध गर्दै शर्माले फेला पार्ने व्यक्तिलाई ११ हजार भारु. पुरस्कार दिने घोषणा गरिवरी रेल चढेर दिल्लीतर्फ लागेकी छन् ।
टिप्पणीहरू