भ्रष्टाचार, विश्व अनुभव, कानुन र खबरदारी

भ्रष्टाचार, विश्व अनुभव, कानुन र खबरदारी

भ्रष्टाचार एउटा सामाजिक तथा सरकारी फौजदारी अपराध हो । ट्रान्सपरेन्सी इन्टरनेशनले ‘निजी स्वाथ्र्यका लागि सार्वजनिक पदको दुरूपयोगलाई’ भ्रष्टाचारको संज्ञा दिएको छ । जसमा घूस, रिस्वत, आर्थिक अपचलन, नीतिगत भ्रष्टाचार, निर्णयगत भ्रष्टाचार, निर्वाचन भ्रष्टाचार आदि रहेका छन् । यो विश्वव्यापी समस्या भएपनि राजनीतिक अस्थीरता भएका, द्वन्द्वग्रस्त अप्र्रिmकी एवम् दक्षिण एसियाका नेपाल, भारत, पाकिस्तान जस्ता मुलुकमा यसको दर अझबढी रहेको छ । न्यून भ्रष्टाचार र सुशासन, विधि र प्र्रणालीको विकासमा युरोपका मुलुकहरू उत्कृष्ट रहेका छन् । भ्रष्टाचार प्राकृतिक र कानूनी व्यक्तिबाट हुन सक्ने भएपनि कानूनी व्यक्तिको संचालनमा पनि प्राकृतिक व्यक्ति नै रहने हुनाले मानिसको नै यसमा भूमिका हुन्छ । सार्वजनिक र सरकारी निकायमा रहेका मानिसले कानूनले तोकेको कार्य नगर्ने, गैरकानूनी तरिकाले घूस वा आर्थिक लाभ लिने, नीतिगत व्यवस्था गरी व्यक्तिगत लाभ लिने वा नीतिको अपव्याख्या गरी आफूलाई लाभ पुग्ने कार्य गर्ने, अख्तियारको दुरूपयोग गर्ने जस्ता कार्यलाई भ्रष्टाचार भनिन्छ । नेपालको अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २ (ज) मा भ्र्रष्टाचार भन्नाले ‘भ्रष्टाचार निवारण सम्बन्धी प्रचलित कानून बमोजिम सजाय हुने कसुर सम्झनु पर्छ’ भनिएको छ । दफा १३ मा ‘कसैले कुनै पनि स्र्रोतबाट आयोगमा प्र्राप्त उजुरीमा आयोगले कारवाई चलाउन सक्नेछ भनि उल्लेख गरिएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ मा कसूर अनुसार बढीमा आठ बर्षदेखि दश बर्ष सम्म कैदको व्यवस्था गरिएका छन् ।

भ्रष्टाचार विभिन्न प्रकारका हुन्छन् । राजनीतिक भ्रष्टाचार, नीतिगत भ्रष्टाचार, संस्थागत भ्रष्टाचार, योजनाबद्ध भ्रष्टाचार, प्रणालीगत भ्रष्टाचार आदि । प्रणालीगत र संस्थागत भ्रष्टाचार अन्यको तुलनामा डरलाग्दो भ्रष्टाचार हो । दार्शनिक प्लेटो (४२७–३४८ विसी) ले आफ्नो पुस्तक रिपब्लिकामा ‘भ्रष्टाचारको लागि राजनीतिक संस्था पर्खाल पछाडिको वासस्थान जस्तै हुने’ बताएर भ्रष्टाचारमा राजनीतिक संस्था र संरचनाको भूमिका दर्शाएका थिए । राज्य प्रणाली र सरकार वा सरकारी निकायका अख्तियारप्राप्त व्यक्तिले भ्रष्टाचार गर्दछन् भने राज्यका अन्य निकायमा त्यसको दुष्प्रभाव पर्ने हुन्छ । सरकार, अदालत, संसद, सेना, प्रहरी, अख्तियार जस्ता अनुसन्धान गर्ने निकाय र त्यसमा रहेका अधिकारी नै भ्रष्टाचार गर्न पुग्दछन् भने त्यहाँ सुशासन र विधिको शासन कमजोर हुन्छ । जनताद्धारा निर्वाचित र विस्वासप्राप्त गरेका नेता वा शासक भ्रष्ट, अनैतिक बन्दै अख्तियारको दुरूपयोगमा लाग्ने घटनाले लोकतन्त्र, लोकतान्त्रिक मूल्य, सुशासन र प्रणाली कमजोर बन्न पुग्दछ । भ्रष्टाचारमा राष्ट्रिय देखि अन्तराष्ट्रिय व्यक्ति वा संस्थाको नीतिगत तथा कार्यगत साझेदारी वा मिलोमतो वा सञ्जाल हुन सक्दछ । सरकारी, गैरसरकारी र निजी क्षेत्रको संलग्नता हुन सक्ने भएपनि सरकार, सरकारी पदाधिकारी वा कर्मचारीबाट हुने घूसजन्य कार्य र अख्तियारको दुरूपयोग जस्ता विषयलाई नेपालको कानूनले भ्रष्टाचार मानेको छ ।

विश्वमा सबै प्रकारका शासनमा भ्रष्टाचार हुने गरेको भएपनि विकसित युरोपमा त्यसको दर न्यून रहेको छ । चीन जस्तो समाजवादी मुलुक जहाँ मृत्युदण्डको समेत व्यवस्था रहेको छ र त्यो देशमा पनि भ्रष्टाचार हुने गरेको छ । सन् २०१७ मा चीनमा १५५१ जनालाई फाँसी दिइएकोमा अधिकाँश भ्रष्टाचारमा दोषी भएकाहरू रहेका थिए । राजनीतिक भ्र्रष्टाचारमा नागरिकको शक्ति, समर्थन र विस्वास प्राप्त गरी शक्ता र शासनमा पुगेपछि आफ्नो निजी लाभ वा हितबाट प्रेरित भई प्रणालीगत र नीतिगत स्तरबाटै विधि र प्रक्रिया मिलाएको देखाएर गरिने ठूला भ्रष्टाचार पर्दछन् । मुलुकमा संस्थागत र नीतिगत भ्रष्टाचार भएपछि त्यसको छायाँ स्थानीय तह, प्रहरी कार्यालय, मालपोत, नापी देखि वडा कार्यालयसम्म पुग्न सक्छन् । त्यस्तो स्थितिमा जहाँ नागरिकको कुनै पनि सानो काम हुन्छ त्यहाँ भ्रष्टाचार हुन पुग्दछ । जस्तो भारतमा सरकारी अस्पतालमा दिइने सेवामा समेत दलाली र भ्रष्टाचार हुने गरेका प्र्रतिवेदन सार्वजनिक भएका छन् ।

प्रजातान्त्रिक मुलुक र शासनमा अनिवार्य रहेका कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा नेतृत्व गर्ने राजनीतिक र निजामती नेतृत्व शुद्ध हुने हो भने मुलुकमा सुशासन हुन्छ । भ्रष्टाचारले राष्ट्रमा कानूनी शासन, विधिको शासन, नागरिक नियन्त्रण, लोकतान्त्रिक संस्कार, सामाजिक मूल्य, नैतिकता, सामाजिक आचार, मानवीयता र मूल्य सबैलाई एकैपटक ध्वस्त बनाउँछ । विश्वका कतिपय अप्रजातान्त्रिक र निरंकुश शासन भएका तथा द्वन्द्वग्रस्त मुलुकमा भ्रष्टाचारको दर बढी रहेको छ र त्यस्ता मुलुकमा सञ्चार माध्यम र नागरिक अधिकारमाथिको कटौतीका कारण यस्ता घटना सार्वजनिक नै गरिदैनन् वा लुकाइन्छन् र दवाइन्छन् । सन् १९८९ अघिको सोभियत संघको कम्युनिष्ट शासन, दोस्रो विश्वयुद्धका क्रममा जर्मनमा भएको एडोल्फ हिटलर (१८८९–१९४५) को शासन, उत्तरकोरियाको शासन, द्वन्द्वग्र्रस्त सिरिया, अफगानिस्तान आदि यसका उदाहरण हुन् । कतिपय मुलुकमा भने भ्रष्टाचारका साना–साना घटना समेत सञ्चार माध्यमले सार्वजनिक गरिरहेका हुन्छन् । जस्तो भारतमा भ्रष्टाचार बढी नै हुन्छ र सञ्चार माध्यमले पनि त्यसलाई निरन्तर सार्वजनिक र खवरदारी गरीनै रहेकै हुन्छन् ।

विश्वमा भ्रष्टाचारको दर र अवस्था

विश्व बैंक तथा अन्य गैरसरकारी संस्थाहरूले भ्रष्टाचार सम्बन्धमा विश्वव्यापी अध्ययन र अनुसन्धान गर्दै आएका छन् । त्यसमा ट्रान्सपरेन्सी इन्टरनेशनलले सन् १९९५ देखि भ्रष्टाचारको विश्वव्यापी सूची प्रकाशित गर्दै आएको छ ।

उसको सन् २०१८ को प्रतिवेदन अनुसार सैभन्दा कम भ्रष्टाचार हुने मुलुकको सूचीमा अधिकांश युरोपेली मुलुकहरू रहेका छन् । डेनमार्क विश्वमै कम भ्रष्टाचार हुने मुलुक हो । त्यसपछिका दश मुलुकहरूमा क्रमश ः न्यूजल्याण्ड, फिनल्याण्ड, स्वीडेन, स्वीजरल्याण्ड, सिंगापुर, नर्वे, नेदरल्याण्ड, क्यानडा, जर्मनी रहेका छन् । एक सय असी मुलुकमा गरिएको अध्ययन अनुसार भ्रष्टाचार हुने सूचीमा संयुक्त राज्य अमेरिका २२ औं, भारत ७८ औं, चीन ८७ औं, श्रीलङ्का ८९ औं, पाकिस्तान ११७ औं स्थानमा रहेका छन् । नेपाल भने विश्वको बढी भ्रष्ट मुलुकको सूचीमा १२४ औं स्थानमा रहेको छ भने सन् २०१७ मा पनि नेपालको सोही स्थानमा रहेको थियो । अध्ययन अनुसार विश्वमै बढी भ्रष्ट मध्येमा बंगलादेश १४९ औं, इराक १७५ औं, हाइटी १७५ औं, सिरिया १७८ औं, साउथ सुडान १७८ औं, सोमालिया १८० औं, अफगानिस्तान १८० औं, उत्तरकोरिया १८० औं स्थानमा रहेका छन् । यसरी प्रतिवेदनलाई हेर्दा द्वन्द्वग्रस्त तथा कठोर शासन भएका मुलुमा बढी भ्रष्टाचार हुने गरेको देखिएको छ भने विकसित र प्रजातान्त्रिक युरोपियन मुलुकहरूमा सुशासन सहित न्यून भ्रष्टाचार हुने गरेको अध्ययनले देखाएको छ ।

भ्रष्टाचार बढी हुनुमा सामाजिक चेतना, शिक्षा प्रणाली, संस्कार र संस्कृति, सामाजिक नैतिकता, राज्यको कानून र कानून कार्यान्वयन गर्ने निकायको व्यवहार जस्ता कुराहरूले प्रभाव पार्ने गरेको देखिन्छ । सन् २०१७ को ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनमा औंल्याइए अनुसार भ्रष्टाचार बढी हुने कारणहरूमा शक्ति, पद र पैसाको चाहनामा बृद्धि, उच्च स्तरको राजनीतिक तथा आर्थिक हैसियतको तिव्र चाहना, कमजोर प्रजातन्त्र, स्थापित प्रणालीको अभाव, पारदर्शिताको कमि, जवाफदेहीताको कमि, विधिको शासन नहुनु, नागरिक नियन्त्रण र खवरदारीको कमि, सामाजिक जागरण र चेतनाको कमि, गरिबी र आर्थिक अवसरको अभाव, सामाजिक र राजनीति अस्थिरता आदि कारण प्रमुख रहेका छन् ।

भ्रष्टाचार न्यूनीकरणको लागि सामाजिक खबरदारी

भ्रष्टाचार सामाजिक अपराध पनि भएकोले यो समाज, नैतिकता र मानवीयता, संस्कार र संस्कृतिसँग पनि गाँसिएर आएको जटिल विषय हो । भ्रष्ट र भ्रष्टाचारीलाई समाजले सबैतिरबाट बहिस्कार र तिरस्कार गर्ने, गलत र नराम्रो मान्दै त्यस्तो गतिविधिलाई परिवार र समाजकै स्तरबाट विरोध र घृणा गरिदिने हो भने यसमा कमि आउने स्थिति हुन्छ । भ्रष्ट र भ्रष्टाचारीलाई सामाजिक सम्मान मिल्ने, कसले कुन माध्यमबाट धन कमायो त्यसमा परिवार र समाजले कुनै सोधी–खोजी नगरी स्वीकार्दै सम्मान गर्ने अवस्था भयो भने भ्रष्टाचार मौलाउन सहयोग पुग्दछ । अर्काे शासन र सत्तामा बसेका मूख्य व्यक्ति वा उनीहरूको आचरण सही हुनु पर्दछ । कानून लागू गराउने वा कार्यान्वयन गराउने निकाय र शक्ति नै भ्रष्टाचारमा मुछिन्छन् भने त्यहाँ सुशासन हुन्छ भन्न सकिन्न । सारमा भ्रष्टाचार बढ्नुमा प्रणाली जति दोषी हुन्छ केही हदसम्म परिवार र समाज पनि जिम्मेवार हुन्छ । जस्तोसुकै माध्यमबाट आएको पैसा परिवार र समाजले स्वीकार गर्ने, भ्रष्टलाई नेता मान्ने, चुनावमा विजयी गराउने जस्ता कार्यले भ्रष्टाचार तथा भ्रष्ट सँस्कृतिलाई मलजल गरिरहेका छन् ।

– प्रेमराज सिलवाल

 

 

टिप्पणीहरू