महामारीको मौकामा महाराजका मान्छे
श्याम रिमाल
राज्य गर्ने र अझ मूल शासकलाई नै राजा भनिएको हुन सक्छ । जुनबेला राज्यराज्यको सीमाङ्कन गरियो, त्यसैबेलादेखि राज्यशासकका रुपमा राजा हुने भइहाले । राजा भनेका राज्यका मूल नाइके हुन् । कतै किङ भनियो, कतै इम्पेरर, कतै मोनार्क, कतै मेजेस्टी, कतै सुल्तान, कतै नरेश, नृपति, स्वामी, कहिले नृप, नृपति, राजन्, महाराज, बडामहाराज । नेपालमै कतै थकाली त कतै बडघर । त्यसो हो भने गणतान्त्रिक राज्यव्यवस्थाका राष्ट्रपति नै राजा वा रानी भए, प्रधानमन्त्री पनि राजा वा रानी भए । कसैले श्रीपेच लगाउलान्, कसैले नलगाउलान् ।
कपिलवस्तुका राजा शुद्धोधन भनिए पनि उनी गणतन्त्रका राजा थिए, मगध साम्राज्यअन्तर्गतका राजा, जसले कर बुझाउनुपथ्र्याे मगध राज्यलाई । सामान्य मानिस नै हो राजा, जसलाई पछि देवत्वकरण गरियो । हामीकहाँ विष्णुको अवतार नै मानिन्थ्यो । कतै जन्मसिद्ध भए, कतै निर्वाचित । रमाइलो कुरा– राजा मरेर राज्य कहिल्यै अड्किएन । मलेसियामा पाँच पाँच वर्षमा राजा चुनिन्छन् । एशियाली कतिपय मुलुकमा त अहिले पनि बाबुपछि छोरा वा छोरी राष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रप्रमुख वा सरकार प्रमुख भएको उदाहरण पाइन्छन् जस्तो कि भारत, उत्तर कोरिया, बङ्गलादेश, श्रीलङ्का । जिम्बाबे, इरान, कम्बोडिया, कङ्गो, गिनी, क्यामरुनलगायत केही मुलुकमा ३०–३५ वर्षसम्म शासन चलाउने पनि छन् । रुसमै पुटिनले २० वर्ष चलाइसके । यिनलाई के भन्ने ? हामीकहाँ पनि राजनीतिक दलका प्रमुखहरूले अध्यक्ष वा सभापतिमा वर्षौंसम्म पद नछाडेर युवाहरूलाई हायलकायल गराएको उदाहरण छँदैछ । अब त्यो स्थिति छैन । विश्वमा पछिसम्म पाँच राजा रहन्छन्, चार तासमा र एक बेलायतमा किन भनिएको होला ? हालै राजालाई देवतासरी ठानिने थाइल्याण्डमा राजाको अधिकार कटौती र प्रजातन्त्रको माग गर्दै ठूला जुलुस निस्कने स्थिति पनि आयो ।
पृथ्वीनारायण शाह पनि राजा, रणबहादुर शाह पनि राजा । इतिहासमा कुनै राजा लखेटिएका छन्, जस्तै कीर्तिपुरमा, कसैलाई जनताले बनाएका छन् जस्तै द्रव्य शाह । गोरखा राज्यका संस्थापक द्रव्य लमजुङे राजा यशोब्रह्म शाहका कान्छा छोरा थिए जो खँड्का राजालाई परास्त गरी राजा भएका थिए (कुनै सिद्धले राजा हुन्छौ भनेकाले उनी गोठ छाडेर युद्ध गर्न गएका थिए, विद्यालयका साना कक्षामा भने बडादशैँको नवमीका दिन लिगलिग कोटमा दौडेर राजा भएको पढाइन्थ्यो, एक नेपाली चलचित्रमा भने कोटमा दौडेर राजा बन्न कस्सिएका उम्मेदवारहरूलाई लुकेर छल गरी हराइएको देखाइएको थियो) ।
हाम्रै कालमा एक राजाले संवैधानिक हुुनुपरेको तथा उनैको वंशनाश हुनुपरेको थियो भने अर्का राजाले राजगद्द्ी गुमाउनुपरेको थियो । बेबी किङ र सांस्कृतिक राजाको खेल खेल्न खोजिए पनि त्यो निकै ढिला भइसकेको थियो । दलहरूको चुनाव गर्न नसक्नाको अकर्मण्यताको फाइदा उठाएर आफैँ शासन गर्दाको फल चारपाँच वर्षभित्र राजाले भोगे । उनले त्यतिखेर जनताको नासो खोस्नु हुँदैनथ्यो । पिता राजा जनाधिकार खोसेको खोस्यै गरेर अस्ताए भने पुत्रले पनि पिताबाट त्यही सिके । चुनाव गर्न नसक्दाको स्थितिमा चाल्नुपर्ने कदमबारे सर्वाेच्च अदालतलाई जिम्मा लगाउनुपथ्र्याे । तुल्सी गिरी, राधाकृष्ण मैनाली, रमेशनाथ पाण्डे, उपेन्द्र देवकोटा, देवी ओझा, कमल चौलागाईं, अनुराधा कोइराला प्रवृत्तिबाट राजशासन चल्न सक्ने स्थिति थिएन, किनकि त्यहाँ मुख्य दलहरू नै थिएनन् ।
करण सिंहको उपस्थितिपछि विसं २०६३ वैशाख ८ गते दलहरूसँग भएको भनिएको सहमति पनि कहिल्यै सार्वजनिक भएन । जे गर्नु वैशाख ११ ले ग¥यो र राजतन्त्र बिदा हुने पृष्ठभूमि बन्यो । नेकपा (माओवादी)को यस भूमिकामा भने कसैले आँखा चिम्लिन सक्दैन । प्रथम राष्ट्रपति हुने लोभमा गिरिजाप्रसाद कोइराला पनि राजविहीनताको मान्यतामा पुगेका हुन् । जे होस् राजतन्त्र अन्त्यताका संसद्मा विपक्षी भनेका एक जना राप्रपाका राजेन्द्रप्रसाद लिङ्देन मात्र थिए । पहिलो संविधानसभाले २०६५ जेठ १५ अन्त्य गरेपछि राजा आफैँ जेठ २९ गते दरबार छाडेर जनतामाझ आए, राजतन्त्रको समर्थनमा ठूलो जुलुस निस्कन सकेन बरु हिन्दूधर्म पक्षधरले भने हिन्दू राज्य कायम गर्ने आवाज उठाएकै उठायै छन् ।
अहिले सत्तारुढ दल चरम सङ्कटमा छ, अझ विभाजनकै डिलमा । प्रमुख प्रतिपक्षी पनि सत्ता लिन सक्ने स्थितिमा छैन । करिब एक वर्षअघि विश्वमहामारीका रुपमा फैलिएको र नेपालमा करीब नौ महिनाअघि देखिएको कोभिड–१९ बीच राजतन्त्र पक्षधरहरू सडकमा हाकाहाकी ओर्लिनु सामान्य कुरा होइन । राजतन्त्र पुनःस्थापना पक्षधरहरूले संसद्मा दुई तिहाइ ल्याउनुपर्छ तर अहिले निर्वाचनको बेला छैन । या त चुनाव जित्नुप¥यो या सडकमा मानवसागर ओर्लनुप¥यो । नेपाली सेना प्रजातान्त्रिक भइसकेको छ, ऊ निर्वाचित सरकारकै आदेशमा चल्न अभ्यस्त छ । मुलुकको पहिचानका रुपमा रहेको भनिएको हिन्दू राज्य त प्राप्त गर्न नसकेका अवस्थामा राजतन्त्र पुनःस्थापनाको माग हतपती स्वीकार हुन सक्ने अवस्था छैन ।
तथापि माओवादीले कसरी रोल्पाबाट फैलिएर संविधानसभाको मागमा दलहरूलाई बाध्य गराउन सक्यो र पछि राजालाई सत्ताबाट हटाउन सक्यो भन्ने कुराको ख्याल गणतन्त्रवादीहरूले गर्न सक्नुपर्छ । एकातिर दलहरूको गन्तव्यहीनता, अर्कातिर महामारी । मलजल त पुगिहालेको छ । अझ रमाइलो त यति नै बेला मुलुकको नाम नै फेरिएको हो कि जस्तो लाग्ने अवस्था, नेपालबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र, त्यसबाट फेरि नेपाल । महामारीसँगै हिन्दू राज्य र राजा पुनःस्थापनाको माग अझ फैलियो भने के हुन्छ ? सरकार, बेलैमा आँखा खोल, आगे मुलुक पशुपतिनाथकै भरोसामा ।
टिप्पणीहरू