ओली आउँदा कालो मास्क प्रतिबन्धित
प्रतिनिधिसभा विघटनबिरुद्ध देशव्यापी आन्दोलन चर्किरहेको बेला आफ्नो कदमको बचाउमा लाग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रममा कार्यकर्तालाई कालो मास्क लगाउन प्रतिवन्ध लगाइएको छ । प्रधानमन्त्री सहभागी हुने पार्टीको कुनैपनि कार्यक्रममा सांकेतिक बिरोध हुनसक्ने भन्दै कालो टोपी, कालो गलबन्दी र कालो मास्कमाथि रोक लगाइएको हो ।
संसद विघटन गर्ने ओलीको कदमपछि दुई कित्तामा विभाजित नेकपाका दुवै पक्ष यतिबेला अलग–अलग स्थानमा अलग कार्यक्रम गरिरहेका छन् । प्रचण्ड–नेपालले नेतृत्व गरेको नेकपा (बहुमत) सडक संघर्ष चर्काइरहेको छ भने ओली समूह भेला र बैठकमा केन्द्रित देखिन्छ ।
राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा आज ओली पक्षले राखेको कार्यक्रममा कालो मास्क, टोपी र गलबन्दी लगाउन रोक लगाइएको हो । कार्यक्रममा सहभागी हुन पुगेका कार्यकर्तालाई लगाइएका बाहिरी कालो वस्त्र हटाउन सुरक्षाकर्मीले निर्देशन दिएका थिए । त्यसपछि सहभागीहरु कालो मास्क,कालो टोपी र कालो रंगको गलबन्दी फुकालेर मात्रै प्रवेश गरेको देखिन्थ्यो ।
टिप्पणीहरू