बूढाको ‘मुक्ति अभियान’

माओवादी जनयुद्धमा महिलाको भूमिका समेटिएको पुस्तक ‘मुक्ति अभियान’ सार्वजनिक भएको छ । दुर्गम जुम्लामा जन्मिएर जनयुद्धमा होमिएकी लक्ष्मीकन्या बूढाले लेखेको पुस्तक नेकपा स्थायी कमिटी सदस्य पम्फा भुसालले विमोचन गर्नुभएको हो । कर्णालीजस्तो दुर्गम ठाउँमा जन्मिएर पनि जनयुद्धको कठिन परिस्थितिमा समेत साहसिक ढङ्गले अविचलित रूपमा लागेकी बूढाको पुस्तकमा महिला आन्दोलनका साथै वर्गीय सँघर्षका विविध पक्ष समेटिएको छ ।

‘जनयुद्धको बलमा प्राप्त उपलब्धिमाथि टेकेर जनयुद्धकै अपमान नगर्नुस् ।’

पुस्तकमा महिला नेतृत्व, कार्यभार र चुनौती, बढ्दो लैङ्गिक हिंसा, सहीदका सपना, महिला उत्पीडन मुक्त नेपालको अभियान, महिला उत्पीडनमा धार्मिक अस्त्रलगायतका पक्षमा विस्तृत विवेचना गरिएको छ । पुस्तकको विवेचना गर्दै भुसालले जनयुद्धमा महिलाको उत्साहजनक सहभागिताले महिला मुक्ति आन्दोलनलाई नयाँ उचाईमा पुर्याएको बताउनुभयो । जनयुद्धकै बलमा गणतन्त्र,सङ्घीयता,धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्वलगायत उपलब्धि हासिल भएको उल्लेख गर्दै उहाँले जनयुद्धको अपमान हुने गरी टिप्पणी दिने छुट कसैलाई नभएको बताउनुभयो ।

उहाँले प्रधानमन्त्री केपी ओलीले जनयुद्धलाई कुहिएको फर्सीसँग तुलना गरेकोमा आपत्ति जनाउँदै भुसालले संघीय लोकतान्त्रिक गणतन्त्रको जगलाई भत्काउने गरी जनयुद्धका बारेमा भ्रामक अभिव्यक्ति नदिन चेतावनीसमेत दिनुभयो । पूर्वमन्त्री भुसालले भन्नुभयो‘जनयुद्धको बलमा प्राप्त उपलब्धिमाथि टेकेर जनयुद्धकै अपमान नगर्नुस् ।’

मालेमावादमा आस्था राख्नेका लागि पुस्तक विश्वविद्यालय हुनसक्ने जनाउँदै उहाँले कम्युनिष्ट पार्टीको घोषणापत्रको निरन्तरताको एउटा दस्तावेजका रूपमा पुस्तकलाई लिन सकिने बताउनुभयो । नयाँ पुस्ताका लागि जनयुद्ध र महिला आन्दोलनका बारेमा बुझ्न पुस्तक उपयोगी रहेको नेत्री भुसालको भनाइ छ ।

टिप्पणीहरू