सरकारी हाकिम साइबर सेनापति नियुक्त, कारबाहीको माग

सरकारी हाकिम साइबर सेनापति नियुक्त, कारबाहीको माग

नेकपाका शीर्ष नेताहरूलाई तथानाम गाली र प्रधानमन्त्री ओली तथा बालुवाटार समूहको जय जयकार गर्दै सामाजिक सञ्जाल रंगाएवापत पुरस्कृत नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले पदीय मर्यादा र सामाजिक हैसियतलाई नाघेर फेसबुकमा फेरि अर्को स्टाटस पोष्ट गरेका छन् । नेकपा (बहुमत) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको नामै उल्लेख गरी प्रचण्डलाई निचोरेर स्वर्ग पुग्ने नठान्न र उनलाई निचोर्दा मलमूत्र मात्रै आउने अर्ति उपदेश दिँदै भट्टराईले लेखेका छन् ‘प्रचण्डको आचि ग्रहण गर्न तयार रहनुस् ।’

आमनागरिकलाई समेत साइबर अपराध आकर्षण हुने भाषा र शब्द प्रयोग गरी नेकपा (बहुमत) का नेताहरूलाई विभिन्न लाञ्छना लगाइएको उक्त स्टाटसको आधारमा महाप्रबन्धक भट्टराईलाई साइबर अपराधमा कारबाही अघि बढाउन नेकपाका नेताहरूले सम्बद्ध निकायलाई आग्रह गरेका छन् । नेता वामदेव गौतमको सन्दर्भमा अध्यक्ष नेपाललाई जोडेर भट्टराईले लेखेका छन् ‘बाहुनकै छोरो हो, पशुपतिमा स्टल थाप्नुस्, दिनमा १०–१५ वटा श्राद्ध गर्ने मौका मिल्ला । माधव नेपालको राजनीति कमसेकम अब सकियो । यो साइबर सेनापति गुरु भट्टराईको ठोकुवा हो ।’

महाप्रबन्धक हुनुअघि पनि उनले यसैगरी दाहाल र प्रचण्डको हुर्मत लिनेगरी सामाजिक सञ्जालमा अपशब्द र अश्लिल भाषाको प्रयोग गरेका थिए । मुलुकका भूतपूर्व प्रधानमन्त्री र ठूलो दलका अध्यक्षविरुद्ध सरकारी ओहोदामा बहालरत कर्मचारीले प्रयोग गरेको गम्भीर प्रकृतिको भाषालाई आधार मान्दै प्रहरीले कारबाही प्रक्रिया अघि बढाउनुपर्ने जनमत देखिएको छ ।

टिप्पणीहरू