भारतले गर्ने ब्यवहारमा भेद

भारतले गर्ने ब्यवहारमा भेद

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटको लागि गरिएको अथक प्रयास सफल हुन नसकेपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अन्ततःरक्षामन्त्री राजनाथ सिंहलाई उनकै निवासमा बिहान भेटेर भएपनि चित्त बुझाउँदै स्वदेश फर्किनुभएको छ । काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा उत्रेपछि आयोजित प्रेस सम्मेलनमा ज्ञवालीको अनुहार जाँदाको जस्तो हँसिलो र फूर्तिलो नभई थकित र गलित देखिन्थ्यो ।

हिजो बिहान राजनाथलाई भेटेर होटल ताज आइपुग्दा साढे १० बजेको थियो । दिउँसो २ बजेको काठमाडौं उडानको लागि विमानस्थल प्रस्थान गर्नु अघिसम्म पनि ज्ञवालीले प्रधानमन्त्री मोदीसँग भेटको अपेक्षा र पहल गरिरहनुभएको थियो । तर, त्यतिखेर भारतीय प्रधानमन्त्री एउटा कार्यक्रममा सहभागी भएको टेलिभजनबाट प्रत्यक्ष प्रशारण भइरहेको थियो । भारतीय पक्षले कुनै खबर नगरेपछि उहाँ निराश हुँदै फर्कनुभएको उच्च स्रोतको दाबी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग सम्बन्ध सुधार गर्नुभएको भनिएको र नेपालको आन्तरिक राजनीतिमा उतारचढाव आएको अवस्थामा भएको यो भ्रमणको क्रममा समेत मोदीले भेटको लागि समय नदिनुलाई अर्थपूर्ण ठानिएको छ । राजनाथसँगको भेटघाटले भने खासै अर्थ नराख्ने कूटनीतिक तथा राजनीतिक विश्लेषकहरू बताउँछन् । बरु,अमित शाहसँग भेट गरिएको भए एक हदसम्म त्यसको अर्थ रहन्थ्यो । कम्तिमा शाह बिजेपीका अध्यक्ष हुन् । भारतीय सत्तारुढ दलमा प्रधानमन्त्री मोदीपछि शाहसँगको भेटले विशेष महत्व राख्ने गरेको छ ।

केही समयअघि बिजेपीका विदेश विभाग प्रमुख विजय चौथाईवाले आएर यता नेपालका प्रधानमन्त्रीसँग बकायदा भेटघाट गरेका थिए । राजनाथले त कालापानीमा खनिएको बाटो उद्घाटन मात्र गरेका हुन् ।

यसअघि मन्त्री ज्ञवालीलाई नयाँ दिल्ली विमानस्थलमा भारतीय परराष्ट्र मन्त्रालयका नेपाल डेस्क प्रमुख तथा सहसचिव अरिन्दम वाग्ची र प्रोटोको अफिसरले स्वागत गरेका थिए । तर,डेढ महिनाअघि उताका बिदेश सचिव हर्षवर्धन श्रृंगला काठमाडौं आउँदा उनले हाम्रा परराष्ट्र सचिवसँग मात्रै होइन,परराष्ट्रमन्त्री,प्रमुख प्रतिपक्षी दलका नेता,प्रधानमन्त्री, राष्ट्रपतिसँग लामो समय भेट गरेका थिए । तर,हाम्रा परराष्ट्र मन्त्रीलाई आन्तरिक राजनीति उथलपुथल भएको बेलामा समेत उताका प्रधानमन्त्रीको अनुहार हेर्न समेत नदिनुलाई अर्थपूर्ण ठानिएको छ ।

नेपाल-भारत मामिलाका एकजना जानकार भन्छन् ‘भारतले उचालेको छ,तर हाम्रा नेताले भेउ पाउँदैनन् । अहिलेको अवस्थामा भएको परराष्ट्रमन्त्रीको भ्रमणमा समेत भारतीय प्रधानमन्त्रीसँग भेटघाटको तालिका तय नगर्नु भनेको उसले आफ्नो हैसियत देखाउँदै अरुलाई सबक सिकाएको हो । यस्तो बेलामा हौसिएर भ्रमण गर्नु नै हाम्रो तर्फको महाभूल थियो ।’

भ्रमणको क्रममा भारतले वर्षौंदेखि मिचेको कालापानीलगायतको भूमिको बारेमा क पनि उच्चारण गरिएको देखिएन । ०५२ सालको महाकाली सन्धि कार्यान्वयन गर्ने कुरो बल्ल यतिखेर उठाइएको छ । त्यतिबेला अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले बर्षेनी १ खर्ब २० अर्ब आम्दानी हुने र पश्चिमबाट सूर्य उदाउने भन्दै पार्टी विभाजन गराएर भएपनि महाकाली सन्धि गराउनुभएको थियो । २५ वर्षपछि महाकालीको कुरो उठाएर कालापानीको संवेदनशीलतालाई भुस बनाइएको छ ।

टिप्पणीहरू