‘ओली मोर्चा संगठनमा म छैन’

‘ओली मोर्चा संगठनमा म छैन’

ओली समूहले सुटुक्क र विनाजानकारी अनेरास्ववियु जिल्ला कमिटी सदस्य र सूर्योदय नगर संयोजकमा मनोनित गरेको भन्दै एक विद्यार्थी नेताले उक्त पद अस्वीकार गरेकी छन् ।

सो संगठनको इलाम जिल्ला कमिटी सचिवालय सदस्य प्रिया राईले आफू ओली समूहमा नरहेको लिखित जानकारी गराएकी छिन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले आफू प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुमै रहेको प्रष्ट पारेकी छिन् ।

‘केपी ओली मोर्चा संगठन इलामको पुस २८ गते सदरमुकाममा आयोजित भेलाले कुनै खबर नगरी अनेरास्ववियू जिल्ला कमिटी सचिवालय सदस्यका साथै सूर्योदय नगर संयोजकमा स्वेच्छिक निर्णय गरी नाम राखेको खबरले मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो निर्णयप्रति मेरो असहमति रहेको जानकारी गराउँछु । साथै, म क.प्रचण्ड, क.माधव नेपाल र क. झलनाथ खनालले नेतृत्व गर्नुभएको नेकपाको विद्यार्थी संगठनमा आवद्ध रहेको व्यहोरा समेत जानकारी गराउँछु ।’

यसअघि पाँच दर्जनभन्दा बढीले ओली समूहको केन्द्रीय सदस्य अस्वीकार गरिसकेका छन् । ओली समूह अहिले देशव्यापी संगठन विस्तारमा लागेको छ । केन्द्रीय कमिटीका झण्डै दुई तिहाई सदस्य प्रचण्ड–नेपालतिर लागेपछि रक्षात्मक बनेको उक्त समूहले नेता–कार्यकर्ता आफूतिर रहेको देखाउन १५ सयबढीको केन्द्रीय कमिटी बनाएको बताइन्छ ।

टिप्पणीहरू