राधाको स्मृतिमा २ लाखको अक्षयकोष स्थापना: हरेक वर्ष एक जना पत्रकारलाई राष्ट्रिय पुरस्कार

राधाको स्मृतिमा २ लाखको अक्षयकोष स्थापना:  हरेक वर्ष एक जना पत्रकारलाई राष्ट्रिय पुरस्कार

पत्रकार राधा बस्यालको स्मृतिमा २ लाख रुपैयाको अक्षयकोष स्थापना भएको छ । आज नवलपुरको कावासोतीमा आयोजीत पत्रकार सम्मेलनमा परिवारका तर्फबाट स्थापना भएको कोषबाट हरेक वर्ष एकजना पत्रकार पुरस्कृत हुने समेत जानकारी दिइएको हो ।

स्तन क्यान्सरका कारण मृत्युवरण गरेकी पत्रकार बस्याल आफैँले स्थापना गरेको राधा क्यान्सर सचेतना फाउन्डेसनले कोषबाट हिंसाविरुद्ध तथा क्यान्सर सचेतनाका विषयमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्ने भएको हो ।

यस वर्षको पुरस्कार आगामी फागुन ९ गते बस्यालको जन्मोत्सवका अवसरमा वितरण हुने राधा क्यान्सर सचेतना फाउन्डेसनका अध्यक्ष पत्रकार प्रकाश बस्यालले जानकारी दिनुभयो । पुरस्कारका लागि फाउन्डेसनले आजैदेखि आवेदन खुलाएको छ । आगामी फागुन ४ गतेभित्र यस वर्षको वैशाखदेखि पुस मसान्तसम्म प्रकाशित प्रशारित क्यान्सर सचेतना र हिंसा विरुद्धका सामाचार, लेख सामग्रीसहित आवेदन दिन सकिने उहाँले बताउनुभयो । तीनवटा सामग्रीमध्ये क्यान्सर सचेचनासम्बन्धी एउटा अनिवार्य हुनुपर्ने छ ।

आवेदकमध्येबाट एकजनालाई अक्षयकोषको हुन आउने ब्याज रकमबाट २० हजार नगद र सम्मानपत्रले पुरस्कृत गरिने फाउन्डेसनले जनाएको छ ।

१० वर्षदेखि पत्रकारितामा सक्रिय राधा बस्यालको यही कार्तिक १४ गते निधन भएको थियो । विवाहलगत्तै घरेलु हिंसाको सिकार भएकी बस्यालले क्यान्सर रोग लागेपछि क्यान्सरसचेतना र घरेलु हिंसाविरुद्ध अभियान चलाउनुभएको थियो । उहाँले राधा क्यान्सर सचेतना फाउन्डेसन संस्था स्थापना गरी पत्रकारिता र अभियानलाई अगाडि बढाउनुभएको थियो ।

पत्रकारिताको माध्यमबाट सामाजिक अभियान र क्यान्सरको सचेतनामा सक्रिय राधाको चाहना बमोजिम नै कोष खडा गरी पुरस्कार दिन लागिएको राधाका बुबा शुभराज बस्यालले बताउनुभयो ।

यस्तै राधाले आफू क्यान्सरसँग जुधिरहेका बेला लेखेको पुस्तक पनि प्रकाशनको तयारी गरिएको फाउन्डेसनले जनाएको छ । क्यान्सरसँग जुधिरहेका बेला आफ्नो अनुभव र भोगाइसहित बस्यालले लेखेको पुस्तक प्रकाशन गर्न नपाई उहाँको निधन भएको थियो ।

टिप्पणीहरू