करोडौंको बैंकिङ्ग कसुरमा फरार पक्राउ
करोडौं रूपैयाँ बराबरको बैंकिङ्ग कसुरमा संलग्न रही फरार रहेका तीनजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुरका रामबहादुर अधिकारी,काठमाडौँ चन्द्रागिरिका सुवास थापा र गोरखाको गण्डकी नगरपालिकाका विष्णु अंगाई रहेका छन् ।
उनीहरू करिब ३ करोड ३२ लाख रूपैयाँ ठगी गरेको यसअघि उच्च अदालत पाटनबाट प्रमाणित भएपछि तोकिएको कैद र जरिवाना भुक्तान नगरी फरार हुँदै आएका थिए । तीनैजनालाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि आइतबार जिल्ला अदालत, चितवनमा पेश गरिएको हो । प्रहरीकाअनुसार अधिकारी आइतबार, थापा शनिबार र अंगाई बिहीबार पक्राउ परेका थिए ।
उनीहरूले बैंक खातामा पर्याप्त मौज्दात रकम नहुँदा नहुँदै पनि विभिन्न व्यक्तिलाई विभिन्न बैंकका चेक दिएका थिए । यसअघि उनीहरूलाई उच्च अदालतले बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५ (१) बमोजिम कैद सजाय सुनाएको थियो ।
टिप्पणीहरू