डाँडातिर दुःखै छ हजुर पढाउन !

त्यसो त गाउँपालिका, डाँडाकाँडाको ठाउँ । बस्तीहरू पातला । दुई–चारवटा घर एउटा पाखामा छ भने कता हो कता डाँडा–खोल्सातिर अरु दुई–चार घर । त्यसमाथि चेपाङ बाहुल्य क्षेत्र । गुरुङ–मगर लगायत पनि । बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन अझ गाह्रै छ । तैपनि जसोतसो विद्यालय सञ्चालन गरेर भएका केटाकेटीलाई पठनपाठनमा सहभागी गराउने काम भइरहेको छ ।

चितवनको इच्छाकामना गाउँपालिकामा विद्यालय संख्या धेरै हुनुको कारण पनि यही हो । संस्थागत विद्यालय जम्मा ४ वटा भएपनि सामुदायिक ५१ वटा छन् । तर एउटा सामुदायिक विद्यालयमा जम्मा १७ जना मात्रै विद्यार्थी भएको पनि छ । वडा नं. ४ स्थित अमरदीप राष्ट्रिय आधारभूत विद्यालय, बेलडाँडाका प्रधानाध्यापक नारायणप्रसाद पौडेलले केही दिनअघि भने, ‘हामी नै घरघरमा मोटरसाइकल लिएर गई विद्यार्थी ल्याएर पढाउनुपर्ने अवस्था छ ।’ खाजा कार्यक्रम सञ्चालनले पनि बालबालिकालाई विद्यालयप्रति आकर्षित गर्न सघाएको उनी बताउँछन् । गरिब, विपन्नका छोराछोरी जाडोले कामिरहेको उनले बताए । यस्ता ठाउँमा डोनरहरूले सहयोग गर्नुपर्ने भन्दै कहिलेकाहीँ आफूले स्रोत जुटाएर विद्यार्थीलाई कापी ल्याइदिने गरेको समेत सुनाए । सोही अमरदीप विद्यालयमै हो जम्मा १७ जना विद्यार्थी भएको, तैपनि ४ जना विद्यार्थी अर्काे विद्यालय मर्ज गरी ल्याएका । विद्यालय मर्ज भएपछि एउटामा पढिरहेका विद्यार्थी अर्काेमा टाढा भयो भनेर जान नमान्ने समस्या पनि देखिन्छ ।

यस्तो अवस्थामा विद्यालयमा भन्दा विद्यार्थीमाथि लगानी गर्ने भिजन गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बनाएको शिक्षा अधिकृत दुर्गादेवी खड्काले बताइन् । विद्यार्थीहरूलाई होस्टेलमै राखेर पढाउने गरी वडा नं. १ मा छात्रावास निर्माणको योजना छ ।

छोरा विदेश बुहारी कुरिनटारतिर नातिनातिनी पनि झर्ने माथि डाँडामा बूढाबूढीमात्रै ।

केहीअघि लकडाउनताका अन्यत्र अनलाइन कक्षाहरू पनि भए । तर यता अनलाइन र टिभीको त के कुरा ४५ प्रतिशत बालबालिकाको पहुँच रेडियोमा समेत नभएको पाइएपछि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर टोलटोलमै पठनपाठनको व्यवस्था मिलाइएको शिक्षा अधिकृत खड्काले बताइन् । पछिल्लो समय यता सबै विद्यालयमा नियमित पठनपाठन सञ्चालन भइरहेको र मंसिरमा एउटा परीक्षा पनि सकिएको उनले जनाइन् । विद्यार्थीहरूले बीचमै पढाइ छाड्ने अवस्था देखिन्छ । गत वर्ष कोही बालबालिका विद्यालय शिक्षाबाट छुटेका छन् कि भनी विद्यालयहरूसँग मागिएको विवरणमा कोही पनि छुटेको नदेखिएको, यसपालि कोभिडका कारण त्यो तथ्यांक संकलन भइनसकेको दुर्गाले बताइन् ।

‘अहिले त माथिल्लो भेगमा केटाकेटी भेट्नै गाह्रो छ’, प्रअ पौडेल भन्छन्, ‘छोरा विदेश जाने, त्यसपछि बुहारी कुरिनटारतिर झर्ने, बुहारी तल झरेपछि नातिनातिनी पनि झर्ने भइहाले । माथि डाँडामा बूढाबूढीमात्रै ।’ बेलडाँडाबाट शिक्षक पौडेलको गत आइतबारदेखि फिस्लिङतिर सरुवा भएको जानकारी उनैले दिए ।

जेहोस्, यता कतै विद्यार्थी थोरै त कतै शिक्षक नपुग छन् । शिक्षक दरबन्दी थोरै हुँदा प्राविका शिक्षकले मावि र निमाविसम्म पढाउनुपरेको जनाउँदै शिक्षा अधिकृत दुर्गादेवीले भनिन्, ‘प्राविको शिक्षक माविको हेडसर भएको अवस्था छ ।’ दरबन्दी नभएको ठाउँमा राहत शिक्षकले काम चलाइएको उनले बताइन् । गाउँपालिकाअन्तर्गत विद्यालयमा रहेका ४४÷४५ जना निजी स्रोतका शिक्षकलाई तलबका रूपमा प्रतिशिक्षक मासिक १८ हजार रूपैयाँ गाउँपालिकाले उपलब्ध गराउँदै आएको छ भने इसिडीका ६८ जना सहजकर्तालाई सरकारले दिएको ६ हजारमा ४ हजार गाउँपालिकाले थपिदिएको उनले बताइन् । प्रावि तहमा ८ वटा बढी दरबन्दी भएपनि मावि र निमाविमा ४२ वटा दरबन्दी नपुग रहेको खड्का बताउँछिन् । हालै जिल्लाबाट २३ वटा दरबन्दी आएको जनाइन् ।

– अजय गोर्खाली

टिप्पणीहरू