बन्द सीमाबाट छिरे भारतीय विधायक
सीमानाका करिब १० महिनादेखि बन्द छ । कोरोना संक्रमणकाकारण भारतबाट आउन–जान पूरै बन्द छ । तर, उत्तर प्रदेश विधानसभाको संसदीय समितिका पदाधिकारी ५ विधायक बिनाकुनै जानकारी नेपाल प्रवेश गरेर फर्केका छन् । त्यो पनि बर्दी लगाएका सुरक्षाकर्मीको दलबलसाथ । उनीहरूलाई नेपालतिर प्रवेश गरेपछि सीमामा रहेका नेपाल प्रहरी र सशस्त्रले कुनै सोधपुछ गरेनन् । देखेको नदेखेजस्तै गरे । सर्वसाधारण आएको भए लाठो लिएर धपाउँथे । तर, उनीहरू बिना बाधा अवरोध सहजै नेपाली कृष्णनगर बजार आए । नेपाली सुरक्षाकर्मी मुकदर्शक बनेर बसे । सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीले हेर्दै बस्यो । सोध्नसमेत हिम्मत गरेन । प्रहरीको रबैया देखेर स्थानीय आक्रोशित बनेका छन् ।
विधायक रामचन्द्र यादवको नेतृत्वमा ५ जना आएका हुन् । यादव सत्तारुढ भाजपाका प्रभावशाली नेता पनि हुन् । सिद्धार्थनगर जिल्ला सोहरतगढ तहसिलका डिएसपी राणा महेन्द्रप्रताप सिंहको कमाण्डमा रहेको सुरक्षा टोलीमा ढेवरुवा थाना इन्स्पेक्टर तहसिलदार सिंह, बढनी थाना इञ्चार्ज अजित राय र विधायकका पर्सनल सुरक्षा गार्ड पनि नेपाल आएका छन् । सबै सुरक्षाकर्मी बर्दी लगाएर आएका थिए । उनीहरू कृष्णनगरको गोलघरनजिक कपडा पसल गए । त्यहाँ विदेशी कपडा र कम्बल किने । तस्बिर खिचे । करिब एक घण्टा किनमेल र घुमफिर गरे । तर ईप्रका कृष्णनगरका इन्स्पेक्टर शुकदेव पौडेलले भने चपाएर कुरा गरे । नआउनुपर्ने हो । हामीले अनौपचारिक रूपमा सोध्दा एकछिनमा फर्किहाल्छौँ भने, त्यही भएर रोक्न सकेनौं । भिभिआइपी हँुदा नेपाली सुरक्षाकर्मीले उनीहरूलाई रोक्ने आँट गरेनन् । बन्द सीमाबाट भारतीय अधिकारीलाई आउन दिएकामा नेपाली सुरक्षाकर्मीको आलोचना भइरहेको छ । सर्वसाधारणलाई नदिने, ठूलाबडालाई दिने भन्दै सानालाई ऐन ठूलालाई चैन भन्ने उखान चरितार्थ भएको छ ।
टिप्पणीहरू