जनता सधैं हार्ने पटके जुवा

जनता सधैं हार्ने पटके जुवा

– बैकुण्ठ ढकाल

गत चुनावमा गरेका प्रतिबद्धता रद्दीको टोकरीमा फ्याँकेका नेता फेरि अर्को घोषणापत्र लेखनको तयारीमा जुटेका छन् ।

पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर आगामी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेका प्रधानमन्त्री केपी ओली देश दौडाहामा छन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि र कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि भनेर सरकारले लकडाउन गरेपछि बालुवाटारबाट सिंहदरबारसम्म पनि नगएका ओली अहिले सुदूपश्चिम र सुदूरपूर्व गएर चर्का भाषण गरिरहेका छन् । प्रधानमन्त्रीको एकाएक बढेको सक्रियता जनताको कामका लागि हैन, आफूले चालेको गलत र गैरसंवैधानिक कामको बचाउ गर्नका लागि हो । प्रधानमन्त्रीले पछिल्लो आमसभामा संसदलाई काम गर्न नदिइएकाले विघटन गरिदिएको बताउने गरेका छन् । अहिले पनि आफूसँग ६४ प्रतिशत मत रहेको र संसद्बाट अर्को सरकार बन्ने कुनै सम्भावना थिएन, अनि विघटन गरिदिएँ भनिरहेका छन् । तर, यत्रो ठूलो जनमत आफूसँग रहेको दाबी गर्ने प्रधानमन्त्रीले फटाफट काम नगरेर किन काम गर्न दिइएन भनिरहेका छन् ? जनमत ठूलो भनेर ताजा जनमतमा जाने घोषणा गरेका प्रधानमन्त्रीले आफूले पाएको जनमतको अपमान गरेको भुलिरहेका छन् ।

आफू प्रधानमन्त्री नहुनलाई कसैले चुनाव गराउँछ ? यदि फेरि प्रधानमन्त्री हुनु थिएन भने संसदीय दलमा अल्पमतमा पर्ने डरले, संसदमा अविश्वासको प्रस्ताव आउने डरले कसैले संसद विघटन गराउँछ ?

झण्डै दुई तिहाइ मतको प्रधानमन्त्री दाबी गर्ने ओलीले जनअपेक्षा पूरा गर्न सकेनन् । आफूले गरेका कुनै पनि वाचा पूरा नगरेका उनी अब फेरि आफूलाई मत दिनुहोस् भनिरहेका छन् । ओली जसरी पनि वैशाख १७ र २७ गते चुनाव गराउँछु भनिरहेका छन् । तर, धेरैलाई विश्वास लागिरहेको छैन । ओलीले अघिल्लो पटक चुनावमा जाँदा अब म अर्कोपटक प्रधानमन्त्री हुने हैन भनेका थिए । पार्टी बैठकहरूमा पनि त्यही कुरा भनेकै हुन् । आफू प्रधानमन्त्री नहुनलाई कसैले चुनाव गराउँछ ? यदि फेरि प्रधानमन्त्री हुनु थिएन भने संसदीय दलमा अल्पमतमा पर्ने डरले, संसदमा अविश्वासको प्रस्ताव आउने डरले कसैले संसद विघटन गराउँछ ? आखिर यी सब के लागि ? तर, प्रधानमन्त्रीले यसको जवाफ दिनुको सट्टा कुतर्क गरिरहेका छन् । सहकर्मी र विरोधीमाथि गालीगलौज गरिरहेका छन् । आफूइतर समूहका नेताहरूमाथि निकृष्ट गाली गलौजमा उत्रिरहेका ओलीको नेतृत्वमा चुनाव हुने अनि समृद्ध र समाजवादको यात्रा पूरा हुने भनेर पत्याउनुपर्ने यो भन्दा ठूलो झूट र ठट्टा अरू के हुन्छ ?

आर्थिक अभावमा कोरोना संक्रमितको उपचार गर्न सकिँदैन भनेर पटक–पटक हात उठाउने सरकारले चुनाव खर्च कहाँबाट जुटाउँछ ? कुतर्क गर्नेहरूले त भन्ने गरेका छन् प्रतिनिधिसभा विघटन गरेपछि सांसदको तलब भत्ता र अन्य सेवा–सुविधामा हुने खर्च जोगिन्छ, त्यही रकम चुनावमा खर्च गर्ने । यो हदसम्म कुतर्क भइरहेका बेला तोकिएकै समयमा चुनाव हुने अनि फेरि कुनै दलले बहुमत ल्याउने, त्यसपछि राजनीतिक स्थायित्व हुने विकास निर्माणले गति लिने भनेर आमनागरिकले पत्याउनुपर्ने र अनि वैशाखको चर्को घाममा उभिएर मतदान गर्नुपर्ने ? सुन्दा र सोच्दा पनि विरक्त लाग्ने अवस्था छ ।

०७२ सालमा भारतले नाकाबन्दी लगाइदियो, त्यही वर्ष भूकम्प गयो । यसले ठूलो क्षति पुग्यो । यसलाई अवसरमा बदल्ने भनियो । यो कुरा सरकार चलाउनेदेखि मतदान गर्ने जनतासम्मलाई नौ दिनमा नौलो, २० दिनमा बिर्सियो भनेजस्तै भएको छ । त्यसको पाँच वर्षपछि विश्वव्यापी कोरोनाको महामारी आयो । नेपालमै ठूलो संख्यामा मानवीय क्षति भयो, अहिले पनि भइरहेको छ । अझै कत्ति हुन्छ कुनै अनुमान लगाउन सकिएको छैन । धेरैको रोजगारी गुम्यो, अब के गर्ने भन्ने ठेगान नभएका युवाको संख्या ठूलो छ । तर, चुनौतीलाई अवसरमा परिणत गर्ने नेतृत्व भएन, वैदेशिक रोजगारीको नाममा पर्यटक भिसामा ठगिए । लकडाउनपछि सीमा नाका पनि खुकुलो भयो, यसको फाइदा उठाउँदै तस्करले चेलीबेटी बेचविखन गर्न थाले । यसरी देशललाई पर्ने ठूला समस्या त तस्कर, भ्रष्टाचारीलाई मात्रै अवसर बन्ने ग¥यो । बलियो भनिएको सरकार पनि यसको मतियार बनिरह्यो । अब ओली सरकारले चुनाव घोषणा गरेको छ । यसबाट एउटा समूहले ठूलो लाभ लिने पक्का छ ।

असारे विकास बर्सेनि देखिरहेका नेपालीले चुनावी विकास पनि बेलामौकामा देख्ने गरेका छन् । अरू केही नभए पनि बिहान बेलुकै चुनावका नाममा फरक फरक पार्टीको मासुभात खानेहरूलाई गज्जब हुने भएको छ । त्यसमाथि माथिकाले चुनावी खर्चका नाममा केही हजार गोजीमा पर्नेछ । त्यसमाथिकाले केही लाख, त्यसमाथिकाले करोड र सबैभन्दा माथिकाले अर्बौंको चलखेलको मौका पाउनेछन् । मतदाता शुद्ध मतदाताले फेरि एकपटक चुनाव नामको जुवा हार्नेछ । त्यसपछि अर्को चुनाव नआउँदा अपमानित हुनेछ, नुनिलो पसिनाले मुख धुनेछ । यसपटक पनि केही गर्छु भन्नेले धोका दियो भनेर पुर्पुरोमा हात राखेर निराश हुनेछ । जिन्दगी गुजार्नेछ । नेपालका अझै कति पुस्ताले यो नियति व्यहोर्नु पर्ने हो यसै भन्न सकिन्न ।

टिप्पणीहरू