व्यस्त विमानस्थलमा तीन महिनासम्म गुपचुप

व्यस्त विमानस्थलमा तीन महिनासम्म गुपचुप

अमेरिकाको शिकागोस्थित व्यस्त ओ’हारे विमानस्थलको सुरक्षा संवेदनशील क्षेत्रमा एकजना मानिस तीन महिनासम्म बस्दा पनि प्रहरीले पत्तो नपाएको शिकागो ट्रिब्यूनले जनाएको छ । क्यालिफोर्निया निवासी ३३ वर्षे आदित्य उदय सिंहलाई विमानस्थल प्रहरीले शनिबार बिहान पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो । विश्वव्यापी कोरोना महामारीको डरले घर जान डराएपछि सिंह अक्टोबर १९ देखि विमानस्थलमै लुकिछिपी बस्दै आएको बताइन्छ । त्यसदिन उनी लसएन्जल्सको एउटा उडानबाट त्यहाँ ओर्लिएका थिए ।

सिंहलाई युनाइटेड एयरलाइन्सका दुई कर्मचारीले शंका गरेपछि प्रहरीले पक्राउ गरेको थियो । पक्राउपछि उनले आफूसँग रहेको ‘एयरपोर्ट आईडी’ देखाएका थिए । तर, त्यो परिचयपत्र सिंहको आफ्नो नभएर विमानस्थलकै एक अपरेशन मेनेजरको थियो । ती मेनेजरले अक्टोबरको अन्तमा आफ्नो परिचयपत्र हराएको सूचना सम्बन्धित निकायलाई जानकारी गराइसकेका थिए ।.त्यहि आईडीको भरमा उनी तीन महिनासम्म विमानस्थलकै सुरक्षा संवेदनशील क्षेत्रमा मज्जाले बसेका थिए ।

त्यति लामो समयसम्म तीनले के खाए होलान् भन्ने सम्बन्धमा ट्रिब्यूनले लेखेको छ ‘यात्रुहरूले दिएको खानाबाटै उनको छाक टरेको हुनसक्छ ।’ उनलाई प्रहरीले विमानस्थलको प्रतिबन्धित क्षेत्रमा घुसेको र ४ सयभन्दा कम डलर चोरेको आरोप समेत लगाएको छ ।

विगत केलाउँदा आपराधिक पृष्ठभूमि नपाइएकाले उनीसँग तत्काल १ हजार अमेरिकी डलर धरौटी माग गरिएको छ । साथै, उनलाई केही समयको लागि ओ’हारे विमानस्थल प्रवेशमा समेत रोक लगाउनुपर्ने माग दाबीका साथ प्रहरीले जनवरी २७ मा पुनः अदालतसमक्ष प्रस्तुत गर्ने तयारी गरिएको सीएनएनले जनाएको छ ।

टिप्पणीहरू