आफ्नै ठाउँमा शरणार्थी

अझै संकटकालको झल्को दिने अवस्था छ चितवनमा । जंगलबीच नेपाली सेनाले सर्वसाधारणलाई गाडी रोकेर, गाडीबाट झारेर चेकजाँच गर्छन् । गत बुधबार दिउँसो माडीबाट भरतपुर आउँदै गरेको मिनीबसलाई निकुञ्जको वनकट्टा रेञ्जपोष्टमा रोक्न लगाई यात्रुलाई झारेरै चेकजाँच गरिएको थियो । हुन त यो कुनै नौलो घटना होइन तर चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको बाटोमा सधैं हुने इन्क्वायरी र चेकजाँचले स्थानीयलाई सास्ती दिएको छ । वन्यजन्तु तथा पर्यावरणलाई असर गर्ने नाममा झण्डै १२ किमि बाटो पीच समेत गरिएको छैन । रातिको समयमा त झन् हिँड्नै पाइँदैन ।

एउटा सानो उपत्यका जस्तो भौगोलिक अवस्थिति भएको, चारैतिर वनजङ्गलले घेरिएको, धेरै खोलानाला भएको, उत्तरी भेगमा चितवन राष्ट्रिय निकुञ्ज, दक्षिणी भेगमा सोमेश्वर सामुदायिक वनलगायत विभिन्न सामुदायिक वनहरूले घेरेको छ माडी नगरपालिका । ‘राष्ट्रिय निकुञ्जको बाटो चौबीसै घण्टा खुलाउने कुरा भइरहे पनि हुन सकेको छैन । एम्बुलेन्सलाई अलि सहज बनाएपनि कसैको आफ्नै गाडी छ, उसको घरमा कोही बिरामी भयो, ऊ आफ्नै गाडीमा अस्पताल लैजान खोज्छ राति भने अवरोध आउँछ’, माडी नगरपालिकाकी उपमेयर ताराकुमारी काजी महतोले भनिन्, ‘एम्बुलेन्सलाई अलि सहजतामा छोडे पनि अरुलाई धेरै इन्क्वायरी गर्ने, त्यहीँ रोकिराख्ने गरिन्छ । जीवनको कति महत्व हुन्छ त्यो बेला ? एक–एक मिनेटको पनि निकै महत्व हुन्छ । तर एक–डेढ घण्टा इन्क्वायरी गरी अनेक सफाइ दिन लगाएर, फोन गरेर, सिफारिस गरेर लैजानुपर्ने अवस्थाले कतिपटक गर्भवतीहरूको अस्पताल लैजाँदा बाटोमै मृत्यु भएका घटना पनि छन् ।’ उनी भन्छिन्, ‘हामी आफ्नै ठाउँमा पराई झैं भएका छौं, आफ्नै ठाउँ हाम्रोलागि पराई झैं भएको छ ।’

माडीको वाल्मीकि क्षेत्र ५ नं. प्रदेशसँग जोडिएको, बाँदरझुला २ नं प्रदेशसँग जोडिएको छ । ‘हामी हाम्रै नगरपालिकाको वडा नं. ९ मा जाँदा २ नं प्रदेश छिरेर फेरि रिटर्न भएर आफ्नै वडामा फर्किनुपर्छ । वाल्मीकि क्षेत्र हाम्रो वडा नं. १ मा पर्छ । तर वाल्मीकि क्षेत्र जानलाई हामी भरतपुर हुँदै नारायणी पार गरेर त्रिवेणी हुँदै इण्डियाबाट छिरेर आफ्नो वडामा आउजाउ गर्नुपर्छ । भारतीय पक्षबाट साह्रै इन्क्वायरी हुन्छ, स्वतन्त्र रूपले त्यो ठाउँमा हामी जतिबेला पनि जान सक्दैनौं । तर त्यो ठाउँ हाम्रो हो, त्यो ठाउँको विकास हामीले नै गर्नुपर्छ ।’

आवत्जावत्कै समस्या भएको हुनाले इतिहास बोकेको वाल्मीकि क्षेत्रलाई आफूहरूले जति विकास गर्नुपर्ने, त्यति गर्न नसकिरहेको बताउँदै ताराले भनिन् ‘चितवन राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा सूचीकृत भएकाले पनि चाहेजति विकास गर्न सक्दैनौं । हरेक काम गर्दा समन्वय गरेर, स्वीकृति लिएर गर्नुपर्ने अवस्था छ । त्यस हिसाबले आफ्नो माडीसँग वाल्मीकिलाई जोड्न सकिरहेका छैनौं । राष्ट्रिय निकुञ्जकै कोर एरिया परेको हुनाले बाँदरझुला तथा ९ नं. का बासिन्दालाई जोड्न सकिरहेका छैनौं । गत वर्ष बाँदरझुलामा एउटा गोरेटो बाटो बनाउने भनेर हामीले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको बजेटबाट सानो गोरेटो बनाएका थियौं, त्यो बनाउँदा पनि हामीलाई अवरोध भयो ।’

समस्या समाधानका लागि माथिल्लो निकायमा वन सचिव, वन मन्त्रीदेखि प्रधानमन्त्रीसम्म पनि कुराकानी भएको तथा सबैलाई समस्या अवगत गराइएको बताउँदै उनले ‘सबैको चाहना भए अवश्य हल हुने’ विश्वास व्यक्त गरिन् । केही कुरा बाझिएको, निकुञ्ज तथा मध्यवर्तीको कानुनले समस्या भइरहेको उममेयर बताउँछिन् ।

– अजय गोर्खाली

टिप्पणीहरू