महाराजगञ्जमा अचम्मको बम

महाराजगञ्जमा अचम्मको बम

हिजो सोमबार राती महाराजगञ्ज चोक नजिकै एउटा निजी घरमा होक्स बम फालिएको छ । बम फ्याँकिएको हल्लाले केही बेर महाराजगञ्ज क्षेत्र निकै आतंकित बनेको थियो । बम यसअघि झापाली मेडिकल कलेज सन्चालक दुर्गा प्रसाईंले घुस काण्डको आरोप लगाएका श्रीकृष्ण गिरीको घरमा फ्याँकिएको खबरसहित पुगेको प्रहरीले भने बम भनेर फालिएको झोलामा थोत्रा कागज,पुराना कपडा र महिलाको महिनावारीमा प्रयोग गरिएका कपडासहित स्वतन्त्र युवा संगठनको नाममा लेखिएको पर्चा संलग्न झोला फेला पारेको छ । संगठनको संयोजकमा विजय थापा उल्लेख छ । थापा उनै हुन्,जो केही समयअघि चिकित्सा शिक्षा आयोगमा अनसन बसेका थिए । बम फ्याँकिएको घरका मालिक गिरी भने आयोगका उपाध्यक्ष हुन् ।

पर्चासहितको बम फ्याँकिएको खबर सुनेपछि शुरुमा प्रहरीले विप्लव समूहले उक्त कार्य गरेको आशंका गरेको थियो । तर,बम नभएको पुष्टि भएपछि सेनाको बम डिस्पोजेबल टोलीलाई बोलाउन नपरेको प्रहरीले बताएको छ । थापा संयोजक रहेको संगठनले गिरीसहितको टिमले चिकित्सा शिक्षा आयोगको पोष्ट ग्राजुएटको प्रवेश परीक्षाका सिटहरू किनबेच थालेको आरोप लगाउँदै आएको छ । गिरीसहित काठमाडौं विश्वविद्यालयका आजैदेखि निवर्तमान उपकुलपति रामकण्ठ माकजु,डिन राजेन्द्र कोजु,आयोग परीक्षा शाखाको उपसचिव दुर्गा कँडेल,आयोगका इञ्जिनियर समीर थापालगायतको गिरोहले प्रति सिट १ करोड रूपैयाँ तोकेर लुटेको आरोपसमेत लगाइएको छ ।

बम भनिएको झोलासँगै फ्याँकिएको पर्चामा लेखिएको छ ‘नीति, नियम,कानुनलाई भ्रष्टाचारी र अयोग्यहरूले धोती लगाइदिएपछि तत्काल उनीहरूबिरुद्ध कालोमोसो दलेर सामाजिक बहिष्कार गर्नु सिवाय केही सोच्न सकेका छैनौं । अब अति नै भयो । कानुनी कारबाहीका लागि यो घटनाको जिम्मा लिँदै स्वयम् म विजय थापा आफैँ कानुनी कठघरामा उभिन आउँदैछु ।’

पर्चामा गिरीले तत्कालीन न्याम्सको रेक्टरको जिम्मेवारीमा रहँदादेखि गरेको भ्रष्टाचार उल्लेख गर्दै अख्तियारमा मुद्दा रहेको समेत लेखिएको छ । यसअघि बीस करोड घुस मागेको प्रकरण, नर्सिङ कलेजलाई सम्बन्धन दिने क्रममा भएको अनियमितता, विद्यार्थीमाथि चर्को आर्थिक शोषण गर्ने मेडिकल कलेज सञ्चालकसँग गिरीको सुमधुर सम्बन्ध भएकाले उनलाई सामाजिक बहिष्कार गर्न थापाले आग्रहसमेत गरेका छन् ।

टिप्पणीहरू