साइबर सेनाको काउन्टरमा जनमुक्ति साइबर सेना

साइबर सेनाको काउन्टरमा जनमुक्ति साइबर सेना

सरकारको प्रतिरक्षा र विरोधीलाई तह लगाउन भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीका कार्यकर्ताहरुले साइबर सेना बनाएको केही समय नबित्दै विप्लव समूहले पनि जनमुक्ति साइबर सेना गठन गरेको छ ।

‘जनमुक्ति साइबर सेना’ को नाममा जारी प्रेस विज्ञप्तिमा पार्टीविरुद्ध फैलाइएका झुठा समाचार र भ्रम हटाउन जनमुक्ति साइबर सेना गठन गरिएको जनाइएको छ । जनमुक्ति साइबर सेनाको आवश्यकतामाथि जोड दिँदै विज्ञप्तिमा भनिएको छ,‘एकीकृत जनमुक्ति साइबर सेना किन ?’

विप्लव समूहले जनयुद्धमा घाइते भएका पूर्वजनमुक्ति सेनाको सहारा बन्न,जनयुद्धका सहिदहरुको सपना साकार बनाउन,जनयुद्धमा बेपत्ता भएकाहरुको पहिचान खोज्न, अयोग्य भनिएका जनमुक्ति सेनालाई योग्य प्रमाणित गर्न जनमुक्ति साइबर सेना गठन गरेको जनाएको छ । समूहले अतिक्रमित भूमि फिर्ता ल्याउन, सीमाको रक्षा गर्न, भ्रष्टाचारीलाई जनअदालतमा उभ्याएर कारबाही गर्न, बलात्कारीलाई जनअदालतमा फाँसी दिन, मुलुकको विकास गर्न र वैदेशिक हस्तक्षेप रोक्न साइबर सेना बनाइएको दाबी गरेको छ ।

त्यसैगरी एमसीसी सम्झौता खारेज गराउन, संसदीय प्रणालीको अन्त्य गर्न, मेडिकल माफियाको अन्त्य गर्न, आफ्नो पार्टीविरुद्ध झुठा समाचार सम्प्रेषण गर्नेको पर्दाफास गर्न, पार्टीभित्र र बाहिर हुने सुराकीको अनुसन्धान गरी भौतिक कारबाही गर्न समेत जनमुक्ति साइबर सेनाको आवश्यकता र औचित्य रहेको भनिएको छ ।

समूहले साइबर सेनाको जिम्मेवारी पनि तोकेको छ । विज्ञप्तिअनुसार इञ्चार्जमा बिस्फोट मगर, संयोजक र सह–संयोजकमा क्रमशः किश अर्याल र तुफान सिंह रहेका छन् ।

 

 

 

टिप्पणीहरू