मध्यरातदेखि महाशक्ति राष्ट्रको जिम्मेवारी सम्हाल्दै जो बाइडेन

मध्यरातदेखि महाशक्ति राष्ट्रको जिम्मेवारी सम्हाल्दै जो बाइडेन

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले राजधानी वासिङ्गटनको स्थानीय समयअनुसार बुधबार मध्यान्ह १२ बजे (नेपाली समयअनुसार बुधबार मध्यरात) शपथ ग्रहण गर्दैछन् । यतिखेर ह्वाइट हाउसमा शपथ ग्रहण समारोहको भव्य आयोजना गरिएको छ । ७८ वर्षीय बाइडेनले ४६ औं राष्ट्रपतिको रुपमा शपथ ग्रहण गर्न लागेका हुन् । कमलाले पनि अमेरिकाको पहिलो महिला उपराष्ट्रपतिको रुपमा शपथ लिनेछिन् ।   

बाइडेनलाई प्रधानन्यायाधीश जोन रोबर्ट्सले शपथ दिलाउने छन् । राष्ट्रपतिको शपथ ग्रहण समारोह हुने ह्वाइट हाउसको परम्परागत स्थानमा २५ हजारभन्दा बढी राष्ट्रिय गार्डहरू परिचालन गरिएको छ । निवर्तमान हुन लागेका राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले हिंसात्मक प्रदर्शनको धम्की दिएका कारण सुरक्षा व्यवस्था कडा बनाइएको हो । उनीहरुले दुई साताअघि संसद भवनमा प्रवेश गरी ध्वंशात्मक गतिविधि मच्चाउँदा चार जनाको ज्यान गएको थियो ।

अमेरिकी परम्पराअनुसार बाइडेनले श्रीमती जिलले हातमा समातेको बाइबल छोएर शपथ लिनेछन् । समाचार संस्थाहरुले जनाएअनुसार उक्त बाइबल बाइडेन परिवारको १ सय २७ वर्ष पुरानो हो ।   

राष्ट्रपति डोनाल्ड ट्रम्प शपथ ग्रहण समारोह बहिष्कार गर्दै केही बेरअघि आफ्नो गृहराज्य फ्लोरिडा पुगेका छन् । उपराष्ट्रपति माइक पेन्सले भने कमला ह्यारिसलाई आफ्नो उत्तराधिकारीको पत्र लेखेर छाडिदिएका छन् ।

यता,भारत तमिलनाडु राज्यको एउटा गाउँका गाउँलेहरुले आफ्नो वंशजकी कमला ह्यारिसले महाशक्ति राष्ट्रको उपराष्ट्रपति पदको शपथ ग्रहण गर्न लागेको खुशीयालीमा हर्षबढाईं गरेका छन् । स्वयम् कमलाले भने भर्खरै गरेको ट्वीटमा लेखिन्‘आजदेखि नयाँ अध्याय शुरु हुनेछ । जो बाइडेन र मैले शपथ लिएपछि हाम्रो राष्ट्रलाई नयाँ मार्गमा अगाडि बढाउँछौं ।”

टिप्पणीहरू