राहतको खाद्यान्न खाल्डामा नाश, गरिबको आसैआस
कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि चैत ११ देखि तीन महिना राज्यले लकडाउन गर्यो । ‘एयरटाइट’ लकडाउनले लुटी ल्यायो, भुटी खायो अर्थात् दैनिक ज्यालादारी गर्नेहरूलाई हातमुख जोर्न गाह्रो भयो । पालिकाहरूले राहत वितरणमा ठूलो खर्च गरे । इलामको सूर्योदय नगरपालिकाले पनि सयौं केजी खाद्यान्न खरिद गर्यो नगरपालिकाको कोषबाट । तर, वितरण गर्न भने कञ्जुस्याइँ गर्यो । तीन महिनाको लकडाउनमा भरथेग गर्न भन्दै पाँच केजी चामल र केही दाल वितरण गर्यो । र, बाँकी खाद्यान्न गोदाममै थन्क्यायो । यता, मजदुर र श्रमिक भोकभोकै ।
लकडाउन भएको आठ महिनापछि पनि नगरले गोदाममा थन्क्याएको खाद्यान्न वितरण गरेन । अहिले पनि खाद्यान्न गोदाममै छ । खाद्यान्न स्टक गरेको भनेर खुब प्रचार गरेको नगरले अहिलेचाहिँ खाद्यान्न कुहाएको छ । पशुलाई आहारसमेत नहुने भन्दै यसै साता कुहिएको दाल चामल खाल्डामा पुर्ने काम ग¥यो । गाईवस्तुलाई समेत आहारा दिन नहुने गरी कुहिएको भन्दै गोदाममा रहेको झण्डै नौ हजार केजी चामलमध्ये तीन सय ५० केजी चामल दुई सय ५० केजी दाल र २० पोका नुन खाल्डामा पुर्ने काम गरेको छ ।
नगरले विगतमा वितरण गरेको राहतलाई हेर्ने हो भने ८० परिवारलाई बाँड्न पुग्ने खाद्यान्न खाल्डामा पुरेको छ । अरू चामल पनि अहिले गोदाममै थन्किएको छ । नगरको कोषबाट गरिब नगरबासीलाई वितरण गर्न कञ्जुस्याईं गर्ने नगरले बाँकी आठ हजार पाँच सय चामल पनि गोदामै कुहाउने हो कि भन्ने नगरबासीको चिन्ता छ । लकडाउनले जीवनयापन कठिन बनाउँदा पनि गोदाममा थन्क्याएर राहत वितरण नगरी गरिबलाई आशा मात्र देखाउने काम गरेको स्थानीयको गुनासो छ । गाईवस्तुलाई समेत खुवाउन नहुने गरी राहतको खाद्यान्न कुहाएका नगरपालिका प्रमुख प्रशासकीय प्रकाशराज पौडेलले पारदर्शी रूपमा खाद्यान्न नष्ट गरिएको भन्दै बहादुरीको काम गरेजस्तै गरिरहेका छन् ।
राहतका लागि खरिद गरेर वितरण नगरी गोदाममा राखिएको आठ हजारभन्दा बढी चामल पनि वितरण नगरी टेण्डर गरेर बिक्री गर्ने नगरपालिकाको तयारी छ । सूर्योदय नगरपालिकाले कोभिड १९ शीर्षकका अघिल्लो आर्थिक वर्षमा ७५ लाख ६६ हजार ७०८ रूपैयाँ खर्च गरेको छ ।
टिप्पणीहरू