धान खाने मुसो, चोट पाउने मनोज

धान खाने मुसो, चोट पाउने भ्यागुतोजस्तै भएको छ, काठमाडौं महानगरपालिका–७ का ४० वर्षीय मनोज श्रेष्ठलाई । आफूले दिएको ऋण उठ्न नसकेपछि लिएको, त्यही जग्गाका कारण उनले जेलमा बस्नुपरेको छ । नजिकको साथीलाई विश्वास गरी दिएको पैसा उठ्नु त परै जाओस्, त्यही पैसाका कारण कात्तिकदेखि तनाव भोग्नुपरेको हो ।

काठमाडौंमा साथी प्रदीप बुढाथोकीलाई पटक–पटक गरी दिएको करिब ५० लाख रुपैयाँ नउठेपछि प्राप्त जग्गाका कारण उनी अहिले जेलभित्र छन् । प्रदीप र उनका केही सहयोगी मिलेर मनोजलाई नवलपरासी जिल्ला साविक स्वाठी गाविसमा पर्ने जग्गा एक कर्मचारीको मिलेमतोमा पास गरिदिएका थिए ।

कर्मचारी र नवलपरासी मालपोतमा लेखापढी गर्ने महेन्द्रसिंह क्षेत्रीसहितले २ कित्ता जग्गाको लालपुर्जा थमाएका थिए । मनोजले ती जग्गाको २ वर्षको करसमेत तिरेका थिए । पछि सामाखुसीस्थित एनआरटी बहुउद्देश्यीय सहकारी संस्थामा उक्त जग्गा राखी ऋण असुल्न खोज्दा लालपुर्जा किर्ते भएको खुलेको हो ।

सहकारीले धितोको निरीक्षण गर्न जाँदा ती जग्गा अर्कैको नाममा रहेको, जग्गाधनी प्रदीपले नाताले भिनाजु पर्ने चेतराम गैरेलाई बेचिसकेको थाहा भयो । ‘अदालतबाट न्याय होस्,’ मनोजकी श्रीमती सुष्मिताले गहभरि आँसु पार्दै जनआस्थासँग भनिन् । नक्कली लालपुर्जा भएको खुलेपछि नवलपरासी प्रहरीले मनोजलाई पक्राउ गरी लिखतसम्बन्धी मुद्दा चलाएको थियो । प्रहरीले नक्कली कारोबार गर्ने प्रदीपलाई समेत समाती मुद्दा चलाएको छ भने अर्का आरोपी महेन्द्र सिंहको खोजी भइरहेको छैन ।

‘त्यत्रो सम्पत्ति पनि तिर्नु छैन । नक्कली कागजात भिडाएर फसाउनेमाथि को कारबाही हुनुपर्ने हो, उल्टै थुनामा राख्दा हामीमाथि झन् अन्याय भएको छ, उच्च तहबाट न्याय होस्, मनोजको परिवारको आग्रह छ । आफूले ५० लाख रुपैयाँ लगेबापत मनोजलाई ती जग्गा पछि फिर्ता लिने सर्तमा नामसारी गरिदिएको बयान प्रदीपले अदालतमा गरेका छन् । प्रदीपको श्रीमतीको नामको जग्गाको नक्कली लालपुर्जा मनोजलाई भिडाए पनि सक्कली रूपमा पास भने गैरेलाई गरेका थिए । प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको बुझिएको छ ।

टिप्पणीहरू