सबभन्दा क्षति पूर्व एमालेलाई
सत्तारुढ नेकपाको विभाजनमा सबभन्दा क्षति भएको छ, पूर्वएमालेलाई । उसका नेता–कार्यकर्ता ६०÷४० को अनुपातले विभाजित छन् । पूर्वमाओवादीका चाहिँ १० प्रतिशतमात्र हुन्, केपी ओलीसँग । ती को हुन् ? किन ओलीसँग गए ?
गृहमन्त्री रहेका रामबहादुर थापा (बादल) का कारण प्रचण्ड–माधव समूहले त्यति धेरै क्षति नभएको विश्लेषण गरेको छ । बादलसँग जम्मा एकजना केन्द्रीय सदस्य गएका छन् । ०७४ को निर्वाचनपूर्व वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी पार्टी छाडेर उनीसँगै प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा फर्किएका ३५ मध्ये ३३ जना अहिले पनि प्रचण्ड–माधव समूहमै छन् । निर्मला पन्त काण्डमा छोरा प्रतीकको बद्मासीमाथि टेकेर केपी ओलीले आफूलाई बिगारी दिने भयका कारण बादल त्यहाँ रहन बाध्य भएको केही नेताको बुझाई छ । बरु, उनी निकट युुवा संघका केही नेता ओली खेमामा छन् । तीमध्येका हुन्, स्वकीय सचिवसमेत रहेका वीरु तामाङ । तत्कालिन वाइसिएलमा उपाध्यक्ष बनाइएकी गंगा कार्की (पूजा) पनि ओलीतिरै छिन् । यसरी पूर्ववाइसिएलका १ सय ५५ मा १७ जना ओलीतिर छन् । युवा संघभरिका २ सय ३० मा १ सय ५ जना ओलीसँग गएका छन् ।
अहिले केपी ओलीले पूर्वलडाकुका रुपमा खुबै चर्चा गर्नुहुने नाम हो, कालिबहादुर खाम । उनी आफैँमा पार्टी जीवनबाट अलग भई टोखा, ग्रीनल्याण्डतिर तास खेल्न व्यस्त हुने मान्छ ! बसुन्धरा–सामाखुशीतिरका दोहोरीमा खाजापानी गरेर दिनरात बिताउँदै आएका । आम्दानीको स्रोत केही देखिँदैन, तर हाइलक्स गाडी हुँक्याएर हिँड्ने, विशालनगरमा घर किनेका नवधनाढ्य । हिजोआज टोखा बस्छन् । अर्थात्, लामो समयदेखि पार्टी सम्पर्कमा थिएनन् ।
ओलीको अर्का विश्वासिला बनेका छन्, प्रभु साह । स्मरणीय के छ भने, उनी ०५७–०५८ सालसम्म ओलीनिकट भएरै एमालेको रौतहट–काठमाडौं सम्पर्क मञ्चमा काम गर्थे । त्यही बेलादेखिका माधवविरोधी । ०६० सालको आसपास माओवादीमा लागेका । एमालेमै रहेको भए सम्पर्क मञ्चको अध्यक्ष, बढीमा केन्द्रको सम्पर्क समन्वय कमिटीमा हुन्थे । तर, माओवादीमा हुनाले अहिले तेस्रोपटक मन्त्री बनेका छन् । अहिले दुई कारणले ओलीसँग छन्, एउटा हो माधवविरोधी । र, अर्को हो, मन्त्री पाइने निश्चित त्यसमाथि ओलीले आफूसँग नआएमा काशी तिवारी हत्याकाण्ड व्युँताएर सिध्याउने त्रास पनि थियो । हिन्दू युवा संघका संस्थापक अध्यक्ष काशी तिवारीको २०६७ असार १२ गते वीरगञ्ज– १३ मशानघाट, शिवपार्वती मन्दिर नजिकै हत्या भएको थियो । त्यसमा प्रभुविरुद्ध पनि किटानी जाहेरी दर्ता भएको छ । यही काण्डका अर्का प्रतिवादी सियाराम कुशवाहलाई प्रहरीले पक्राउ गरेको थियो । तर, सर्वोच्च अदालतले ०७५ पुस १३ गते रिहा गर्न आदेश दिएपछि उनी बाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्दै छन् । सियाराम रौतहटको कटहरिया नगरपालिकाका मेयर हुन् । मुख्य अभियुक्त (प्रभु) पक्राउ नपर्ने, सहायक अभियुक्तलाई जेलमा राख्न मनासिव नभएको भन्दै सियाराम छुटेका थिए ।
बालकृष्ण ढुंगेलको गुनासो थियो, प्रचण्डले वास्ता गरेनन् भन्ने । त्यही नाममा मात्रै हो उनी केपी ओलीतिर लागेको । टोपबहादुर रायमाझी पहिल्यै उपप्रधानमन्त्री भइसकेका हुन् । तर, एउटा क्याबिनेट मन्त्री स्वीकारेर ओलीतिर लागेका छन् ।
टिप्पणीहरू