पत्रकारलाई महेश बस्नेतको धम्कीबिरुध्द…

पत्रकारलाई महेश बस्नेतको धम्कीबिरुध्द…

नेकपा ओली समूहका नेता महेश बस्नेतले प्रतिनिधिसभा विघटनका विरुद्ध समाचार लेख्ने पत्रकारहरुलाई धम्की दिएको भन्दै नेपाल प्रेस युनियनले आपत्ति जनाएको छ । बस्नेतले बिभिन्न संचारमाध्यमका सम्पादकलाई धम्कीपूर्ण अभिव्यक्ति दिइएकोप्रति आफ्नो ध्यानाकर्षण भएको युनियनले जनाएको छ ।

आज प्रेस विज्ञप्ति जारी गर्दै युनियनले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमका पक्षमा नलेख्ने पत्रकारहरुलाई बस्नेतले धम्की दिएको भन्दै भर्त्सना गरेको हो ।

‘नेपाली संचार जगतको मूल हिस्सा प्रतिगमनको विरुद्धमा सतिसाल झैं खडा भएपछि अत्तालिएको ओली नेतृत्वको सत्ता र समूह अहिले बर्बराउन थालेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘ईकागजका सम्पादक हरिबहादुर थापा,कान्तिपुरका सम्पादक सुधिर शर्मा र रातोपाटीका सम्पादक ओम शर्माको नामै लिएर बस्नेतले सार्वजनिक कार्यक्रममा धम्क्याउने कार्य बर्बराहट मात्र हो ।’

युनियनले बस्नेतको अभिव्यक्तिलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विरुद्धको बर्बराहट भनेको छ । ‘संविधान,लोकतन्त्र,बिधिको शासनअन्तरगत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रको पक्षमा आफूलाई उभ्याउँदै आएको संचारगृहमाथि सांसद अपहरणलगायत बिगतमा विभिन्न बिबादित कार्यमा संलग्न रही पछिल्लो समयमा साइबर सेना गठन गरी फरकमत राख्नेहरुप्रति संगठिन आक्रमण गर्ने र दुष्प्रचार गर्दै आएका बस्नेतको अभिव्यक्ति त्यसैको निरन्तरता हो’, विज्ञप्तिमा जनाइएको छ ।

लोकतन्त्रको पक्ष र प्रतिगमनको बिरुद्ध अबिचलित रहेर आफ्नो जिम्मेवारीप्रति अडिग रहँदै आएका संचारमाध्यमहरुलाई यस्ता कायरतापूर्ण धम्कीको कुनै पर्वाह नगरी आफ्नो कर्ममा निरन्तर लाग्न पनि युनियनले आग्रह गरेको छ ।

युनियनले संचारमाध्यममाथि बस्नेतको अभिव्यक्तिको निन्दा गर्दै सम्बन्धित सम्पादक र नेपाली संचारजगतसामु माफी माग्न भनेको छ। साथै सार्वजनिक रुपमा धम्की दिने बस्नेतलाई नियन्त्रणमा लिएर कानूनी कारबाही गर्न स्थानीय प्रशासनसंग माग पनि गरेको छ ।

टिप्पणीहरू