लडाकू र प्रमको अडियो लिक (अडियोसहित)
प्रधानमन्त्रीलाई पूर्वलडाकुहरुले फोन गर्छन्, भेट्छन् वा उहाँको समूहमा प्रवेश नै गर्छन्– जुन सार्वजनिक हुनसक्छ । तर, बालुवाटारबाट पूर्ववाल लडाकुले प्रधानमन्त्रीसँग गरेको कुराकानी नै बाहिर छरपष्ट पारिदिने काम भएको छ ।
जनआस्थाले प्राप्त गरेको अडियो रेकर्डमा प्रधानमन्त्रीसँग पूर्ववाल लडाकु, अयोग्य लडाकुका उपाध्यक्ष तथा प्रवक्ता राजन थापाले गरेको कुराकानी छ । ३ मीनेट ४१ सेकेण्डसम्म दुईबीच कुराकानी भएको छ । उक्त संवादमा राजनले प्रधानमन्त्रीसँग भनेका छन्, ‘अहिले जे निर्णय लिनुभयो, त्यसप्रति हाम्रो संगठनको तर्फबाट सकारात्मक समर्थन छ । यो निर्णय देशको हितका निम्ति छ ।’ त्यसप्रति प्रधानमन्त्रीले धन्यवाद भन्नुभएको छ । देशभर ४ हजार ८ जना अयोग्य पूर्वलडाकु रहेको भन्दै उनले आफूहरुका निम्ति केही गरिदिन अनुरोध गरेका छन् । तर, प्रधानमन्त्रीले ‘अयोग्य लडाकु’ भन्ने शव्द सुन्नासाथ आपत्ति जनाउनुभएको छ । उहाँले ‘अयोग्य लडाकु भनेको लडाकुका निम्ति अयोग्य, अयोग्य लडाकु भनेको होइन । लडाकु भनेर उनीहरुले (माओवादी नेतृत्व) लडाकु भनेर जे पेश गरे, त्यो क्याटेगोरीमा मिलेन भनेको मात्रै हो । लडाकु भनिएको तर साँचो नठहरिएको मात्रै हो ।’
राजनले भनेका छन्, ‘०७३/०७४ को बजेटमा विष्णु पौडेल माननीयज्यू अर्थमन्त्री र हजुर प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यतिखेर पनि यी समूहलाई केही व्यवस्थापन गर्नुपर्छ भन्ने हिसाबले ८४ करोड विनियोजन गर्नुभएको थियो । त्यसैमा प्रधानमन्त्री कार्यालय र सरकारलाई विपक्षी बनाएर रिट पर्यो । त्यो मुद्दा अहिले पनि चलिरहेको छ । यो चार हजार मात्र नभएर हाम्रो परिवारसँग जोडिएको १५/२०/२५ हजारसँग जोडिएको विषय छ ।’ उनले प्रचण्डलाई गाली गरेका छन्, ‘प्रचण्डले गद्दारी गरे । जनयुद्धलाई नै कुहिएको फर्सीमा परिणत गरे । अहिले सम्माननीय केपी ओलीज्यूको सरकारले कमसेकम देशको हितको निम्ति, हिजो जनयुद्धका घाइते, सहिद परिवारका निम्ति राम्रो योजना बनाउनुभएको छ । प्रचण्डज्यूले सत्ताको लागि, कुर्सीका लागि काम गर्नुभएको आमजनतालाई लागेको छ ।’ उनले सर्वोच्चमा अड्किएर बसेको मुद्दालाई ‘पोजिटिभ रुपमा किनारा लगाउन’ प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । तर, प्रधानमन्त्रीले आफू मिटिङमा भएको भन्दै पछि कुराकानी गर्ने बाचा गर्नुभएको छ ।
अडियोः
टिप्पणीहरू