प्रहरीको मिलेमतोमा बलात्कार लुकाउने प्रपञ्च

प्रहरीको मिलेमतोमा बलात्कार लुकाउने प्रपञ्च

स्थानीय जनप्रतिनिधि र प्रहरीको मिलेमतोमा धनुषामा बलात्कार प्रयासको घटना लुकाउन खोजिएको छ । गत बिहीबार राती जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–९,औरहाकी एक दलित महिलामाथि सोही ठाउँका सवाजान साफी धोवीले बलात्कार प्रयास गरेका थिए ।

तर,घटना भएको एक साता बित्दा समेत प्रहरीमा जाहेरी दर्ता हुन सकेको छैन । घटनाको भोलिपल्टै जाहेरी दिन खोजे पनि वडाध्यक्ष अशोककुमार चौधरी र उनीनिकट केही स्थानीयले अवरोध गरेको पीडितपक्षको गुनासो छ । घटनाको पर्सिपल्ट शनिबार किटानी जाहेरी लिएर इलाका प्रहरी कार्यालय,महेन्द्रनगर पुगेका पीडितलाई प्रहरीले जाहेरी दर्ता गर्नुको साटो उल्टै हप्काएपछि मिलेमतोको आशंका गरिएको हो ।

पीडितपक्षका अनुसार वडाध्यक्ष चौधरी र प्रहरीले घटना सार्वजनिक नगर्न दबाब दिँदै उल्टै उनीहरूलाई थुनिएको थियो । चौधरीले पीडकपक्षबाट आर्थिक लाभ लिएर घटना गाउँमै मिलाउन खोजेको उनीहरूको आरोप छ । इलाका प्रहरीले जाहेरी नलिएपछि आइतबार जिल्ला प्रहरी कार्यालय जनकपुर पुगेका पीडितलाई नेकपाका नेता तथा पूर्वमन्त्री रघुवीर महासेठको नाम लिँदै वडाध्यक्ष चौधरीले थुनाएको बताइन्छ । पीडितपक्षले दिएको जानकारीअनुसार पछि महासेठसँग बुझ्दा उनले घटनाबारे कुनै जानकारी नभएको भन्दै पीडकपक्ष र प्रहरीलाई हप्काएपछि उनीहरूलाई छाडिएको थियो ।

न्यायको ढोका ढकढकाउँदै भौंतारिएको पीडितपक्ष अझै जाहेरी बोकेर दौडिरहेको छ । गरिब भएकै कारण स्थानीय सरकार र प्रशासनबाट हेपिनु परेको उनीहरूको दुखेसो छ ।

के हो घटना ?

पीडित महिलाले जाहेरीमा उल्लेख गरेअनुसार बिहीबार बेलुका खाना खाएर सुत्ने तरखर गर्दै थिइन् । त्यहीबेला कोही नभएको मौका छोपी सवजान साफी कोठाभित्र पसे । त्यसपछि एक हातले मुख थुनेर जबर्जस्तीको प्रयास गरे ।

साफीले जबर्जस्तीको प्रयास गरे पनि महिलाको प्रतिकारपछि पैसाको प्रलोभन देखाएको जाहेरीमा उल्लेख छ । दुई हजार रूपैयाँ दिएर फकाउँदा पनि आफूले नमानेको बरु सकेसम्मको प्रतिकार गरेको महिलाले जाहेरीमा लेखेकी छन्  । अन्तिममा महिलाले हारगुहार गरेपछि साफी भागेको जाहेरीमा उल्लेख छ ।

टिप्पणीहरू