सरकारसँग लाहुरेहरु सशंकित

देश र जनतालाई बन्धकमा राखेर आफूलाई सार्वभौम राष्ट्रको संवैधानिक प्रधानमन्त्री हुँ भन्ने आधार के हो ? नेपाल सार्वभौमसत्तासम्पन्न राष्ट्र हो । ब्रिटिशको उपनिवेश होइन । सार्वभौम राष्ट्रका नागरिकलाई सरकारले चाहँदैमा सन्धिसम्झौता गरी सैनिकजस्तो संवेदनशील पेशामा पठाएर तेस्रो राष्ट्रका विरुद्ध युद्धमा प्रयोग गर्न पाइँदैन । गरेमा युद्ध अपराध ठहरिन्छ । यस्तो गैरकानुनी पेशामा राणा शासनकालदेखि अहिलेसम्म नेपाली नागरिकहरुलाई तेस्रो राष्ट्रका विरुद्ध लड्न पठाउने गैरकानुनी पेशा जारी छ । नेपाली भूमिमा ब्रिटिश सैनिक क्याम्प राखेर भारतीय सेना, बेलायती सेना, सिंगापुर र बु्रनाइ गरी एउटै राष्ट्रका नागरिकहरुलाई ती राष्ट्रको सैनिक पेशामा जान पाउने संस्कार बसालिदिनु परलम्बी बनाउनु हो ।

नेपाली नागरिकलाई भारतीय सेनामा पठाएर चीनसँग किन लडाइँदैछ ? पाकिस्तानसँग किन भिडाइँदैछ ? यो नेपाल सरकारको छिमेकी राष्ट्रप्रतिको आफ्नै नीति हो कि ब्रिटिशको लिगेसी ? विश्वभर नेपालसँग कूटनीतिक सम्बन्ध रहेका मित्रराष्ट्रहरुविरुद्ध नेपालीहरु किन र केका लागि लडिरहेका छन् ? विदेशमा लड्दा कति नेपालीको मृत्यु भयो ? राष्ट्रलाई यस्तो बिजोग अवस्थामा पु¥याएर सरकारले कुन नैतिकताको आधारमा असंलग्न परराष्ट्र नीतिको कुरा उठाउने ?

तपाईंमा राष्ट्र र राष्ट्रियता तथा जनताप्रति चिन्ता भएको भए, सच्चा राष्ट्रवादी र कुशल राजनीतिज्ञ भएको भए नेपाली जनताले तपाईंको पार्टी नेकपालाई यति शक्तिशाली बनाएर सत्तामा पठाउँदा सबै दललाई समेटेर यो समस्या समाधान गर्न कूटनीतिक पहल थाल्नुपर्ने थियो । आफ्नो कमजोरी लुकाउन प्रचण्डले काम गर्न दिएन भन्नु र जँड्याहाले मलाई श्रीमतीले घरबाट निकालिदिइन्, न्याय पाऊँ हजुर भन्नु एउटै हो । भोका, नांगा, निमुखा जनतामाथि अर्बौंको ऋण थुपारेर, नेपाली जनतालाई कोरोनाको मुखमा लाम लाग्न आदेश दिएर कुन शक्तिलाई खुशी पार्न खोज्नुभएको हो ?

सरकारबाट लाहुरेहरुलाई जवाफ दिन आवश्यक ठानिएन भने नेपाललाई ब्रिटिश साम्राज्यको चंगुलबाट मुक्ति दिलाउन संयुक्त राष्ट्रसंघमा उपरोक्त विषय उठाइने कार्यक्रम रहेको व्यहोरा निवेदन गर्दछु ।

– पदमबहादुर गुरुङ, संस्थापक सभापति, गोरखा भूपू सैनिक संघ (गेसो)

टिप्पणीहरू