ए पुरुष ! अर्काकी श्रीमतीमा के पाउँछौ ?
– वैकुण्ठ ढकाल
‘कता गायब हो, महारानी ?’
‘मान्छेलाई यहाँ कस्तो टेन्सन भइरहेको छ ।’
‘महारानीलाई टेन्सन छैन भनेको दिन पो, अचम्म मान्नुपर्ने हैन र?’
‘त्यस्तै बुझ्नुहोस् महाशय तर कुरो अलि जटिल छ ।’
‘के भयो, बूढाले कान्छी ल्यायो कि कसो ?’
‘त्यही भएर त महाटेन्सन परिरा’छ । अन्टी सौता भएर आइ भन्या ।’
‘आफ्नै अन्टी त हैन, अन्टीको उमेरको चाहिँ हो ।’
‘कुरा के हो, विस्तारमा भन्न मिल्छ ?’
‘मिल्छ तर मलाई टाइप गर्न झ्याउ लागेको छ, कल पाऊँ ।’
म्यासेन्जरमा कुरा गर्न छाडेर, फोन डायल गरें । लामो घण्टीपछि मात्रै फोन उठ्यो । उताबाट निकै भारी स्वर सुनियो । लामो गनथन नगरी मूल विषयमा प्रवेश गरेँ । उताबाट कुरा शुरु भयो ।
‘दशैं नजिकै आउँदै थियो, बूढाले सलाम गर्ने जागिर (गार्ड) खाएको लामै भएको थियो । अन्टी उमेरको महिला नियमित उपचारका लागि आउँदिरहिछन् । बूढाको सलाम र मुस्कानले ती अन्टी त फिदा भइछन् । कोरोनाका कारण बिरामीको फोन नम्बरसहितको विवरण गेटमै रहेको रजिस्टरमा लेख्ने नियम थियो । त्यही नम्बरमा बूढाले अलिअलि मापसे गरेको बेला फोन दबाएछन् । उताबाट सकारात्मक कुराकानी आएछ । फोनको रमाइलो, ती आन्टीको कोठासम्म पुगेछ । एक पटक हैन, दिनको कैयौं पटक फोनमा र केही दिन बिराएर कोठामा शरीर साटेछन् । त्यो कुरा घरबेटीले सुइँको पाएछन्, अनि मौकाको खोजीमा रहेछन् । त्यो रात ढुकेरै बसेछन्, जब बूढो र ती आन्टी एक अर्कामा हराए, घरबेटीले बाहिरबाट चुकुल लगाएर, ती आन्टीको बूढालाई फोन गरिदिएछन् । अनि रंगेहात झ्याप्प परे । ती आन्टीको त्यो लोग्ने चौथो रहेछ । ती अधबैंशेको त तीन वटा स्वास्नी रहेछन, तीनतिर राखेको । उसलाई त गज्जब भएछ, अब एउटी जिम्मा लगाउन पाइने भयो भनेर मख्ख ।’ अनेकौं प्रयासका बाबजुद जसोतसो आर्थिक लेनदेनमा कुरा मिल्यो ।’ उताबाट लामो सुस्केरा हालेर कुरा सकिएको संकेत गरिन् । यता मलाई कुनै चलचित्रको कथा सुनेजस्तो लाग्यो । यही भनेँ उनलाई ।
हो, सुन्नेलाई त्यस्तै लाग्छ । २६ वर्षकी श्रीमती केही दिन सँगै नभएको मौकामा आन्टीको उमेरकीसँग लाग्छ भने के गर्नु ? न रूप, न उमेर । अर्काकी श्रीमतीको के ले तान्छ होला के यी पुरुषलाई ?
‘पत्रकार महोदय !, कुन जमानामा हुनुहुन्छ ? पतिव्रता पत्नी, पत्नीव्रता पतिको जमाना हरायो अब ।’
‘तिमीले पकाएको ताजा भातभन्दा, होटलको फ्राइ राइस मीठो लागेकोे होला नि तिम्रो लोग्नेलाई ?’
‘त्यही त होला नि, कहिल्यै सुख दिएन, विदेशमा हुँदा त को–को महिलासँग लागेर भएभरको पैसा सक्यो, घर फर्कन आफैंले ऋण गरेर टिकट काटिदिनुपर्यो । अहिले नेपाल फर्किएर पनि आन्टीको उमेरसँग लागेर हैरान ।’
‘तिमीमा के छैन, जुन ती आन्टीमा पाएर तिम्रो बूढो त्यता लाग्यो ?’
‘तिमी पुरुष नै जान, त्यहाँमाथि तिमी त पत्रकार ! अनुसन्धान गर, खोजी रिपोर्टिङ गर, ल राखें, लोग्ने आयोजस्तो छ ।’
‘ए, पुरुष आफ्नो श्रीमतीमा के छैन र अर्काकी स्वास्नीमा खोज्छौ !’
जवाफ– १ ‘ऐय्या आत्था केही हुन्न, अनुभवीको कुरा बेग्लै स्वाद, भिन्दै ।’
जवाफ–२ ‘बिनालगानी, बिनाजोखिमको प्रतिफल । कसले छाड्छ ।’
‘त्यत्ति सहज है ?’
‘पत्रकार महोदय !, कुन जमानामा हुनुहुन्छ ? पतिव्रता पत्नी, पत्नीव्रता पतिको जमाना हरायो अब ।’
महिलाले पुरुष भनेर दह्रो झापड हानी गइन् । पुरुषले पनि ‘मर्दना’ ओकलेर हिँडे ।
‘ए, पुरुष आफ्नो श्रीमतीमा के छैन र अर्काकी स्वास्नीमा पाउँछौै ?’
आफ्नो श्रीमतीको भन्दा उमेर, रूपमा समेत कमसल अर्काकी स्वास्नीको पछि किन लाग्छन् पुरुष ? जवाफ भेटिएको छैन । अलि शालिन तरिकामा जवाफ दिनेहरू पुरानो नेपाली भनाइलाई हतियार बनाउँछन्–‘छोराछोरी आफ्ना, स्वास्नी अर्काको राम्री ।’
यो भनाइ कसले भन्यो, कसले चलायो । अहिलेको जमानामा भन्ने हो भने किन र कसरी भाइरल भयो यो । खोजी गर्नु नै पर्ने भयो ।
केही पुरुष सहजै एकभन्दा धेरैसँग शरीर साटेको कुरा गर्छन् । दुबै पक्षको सहमतिमा एकअर्कोलाई हानि नपु¥याएर सम्बन्ध बनाउँदा केही फरक नपर्ने तर्क गर्छन् । लामो समय श्रीमान् विदेशमा हुने, यता श्रीमती छटपटाउने, त्यो बेला जैविक आवश्यक पूरा गर्नु, आपसी समझदारीमै के हानि छ यसमा ? प्रश्न आउँछन् । जवाफ के दिनु † यसले श्रीमान् विदेश हुनेका श्रीमती दोस्रो पुरुषसँग सम्बन्ध बनाउँछन् भन्ने अर्थ नलागोस् । यदि, त्यसो हुन्थ्यो भने लाखौंको वैवाहिक सम्बन्ध भंंग हुन्थ्यो । पतिसँग भन्दा बाहिर कोहीसँग सम्बन्ध नबनाउने भनेर कसम नै खाएर बस्ने र पालना गर्नेको संख्या प्रशस्त छ । पत्नीभन्दा बाहिर सम्बन्ध बनाउनै नहुने भन्नेको संख्या पनि ठूलो छ । पहिलो प्रेम असफल भयो भनी आजीवन विवाह नगरी बस्नेहरू पनि छन् । प्रेम एउटासँग, बिहे अर्कोसँग गर्ने पनि उत्तिकै छन् । यसले सोच र व्यवहार फरक–फरक छन् भन्ने पुष्टि गर्छ ।
सुहागरात मनाएर निस्केकी अर्काकी स्वास्नीलाई आँखा गाडेर हेर्ने पुरुष पनि छन् । भर्खर नुहाएर बाथरुमबाट निस्किएकी अर्काकी स्वास्नीका छातीमा आँखा लामो समय अड्याउने पनि छन् । अर्कोतिर मुन्टो फर्काउने पनि उत्तिकै छन् ।
कोही पुरुष महिला अगाडि हुँदा सल मिलाउन बाध्य पार्छन् । कोही पुरुष महिलालाई कपाल मिलाउने बनाउँछन् । धेरैजसो महिला पुरुषसँग कुरा गर्नेबेला सल मिलाउने हैन, कपाल मिलाउने अवस्था आओस् भन्ठान्छन् । पुरुष होस् वा महिला एकअर्कोलाई सहज, स्वाभाविक र पाच्य हुने व्यवहार गर्नु नै उत्तम विकल्प हो ।
जति गनथन गरे पनि ‘ए, पुरुष आफ्नो श्रीमतीमा के छैन र अर्काकी स्वास्नीमा खोज्छौ ?’ भन्ने प्रश्नको जवाफ भेटिएन । भेटिएका जवाफमा चित्त बुझाउन सकिएन । तपाईंसँग चित्तबुझ्दो जवाफ छ भने भन्नु होला है !
टिप्पणीहरू