चुनावको ‘देखावटी तयारी’ कस्तो चल्दैछ ?
वैशाख १७ र २७ गते आमनिर्वाचन हुन्छ भन्ने देखाउन सरकारले गृहमा सामान्य कमिटी गठन गरेर लटरपटर मिटिङ बोलाउने र क्याबिनेटबाट ३७ र ४० जिल्लाको दुई चरण तोक्ने काम गर्दैछ । विगतमा झैँ कमिटीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेनाका प्रतिनिधिलाई राखिएको छ । तर, यसबीच भएका बैठकको पारा हेर्दा ‘देखाउनैको लागि मात्र’ गरिएको भान सुरक्षा निकायका प्रतिनिधिलाई समेत पर्न थालेको छ ।
निर्वाचन आयोगले पनि देखाउनैका लागि बजेटको प्रस्ताव अघि सारेको छ । तर, काम केही अघि बढेको छैन । गृह मन्त्रालयको टिमकोले अहिलेसम्म दिनदिनै ०७४ सालको चुनावपछि ‘जनसंख्या बढेकोले बुथ तथा मतदान केन्द्रको संख्या बढ्ने अवस्था छ कि छैन ?’ भन्ने विषयमा मात्रै छलफल चलाएको देखिन्छ ।
स्रोत भन्छ ‘यसबाट पनि सरकार चुनावका निम्ति कति प्रतिबद्ध छ भन्ने अनुमान गर्न सहजै सकिन्छ ।’ छलफलमा दिनहुँ ‘जनतालाई तीन घण्टाभन्दा बढी हिँड्न नपरोस् है’ भन्ने रटान मात्र लगाइएको पाइन्छ । सरकारी प्रतिनिधिहरूले ‘बरु बुथ थप्नुपरे थपिन्छ’ भन्दै प्रारम्भिक तहको छलफल चलाएका छन् । गृह मन्त्रालय स्रोतले पनि ‘उक्त कमिटीमा भएको छलफलको पाराले वैशाखमा चुनाव हुन्छ भनेर किटान गर्न नसकिने’ प्रतिक्रिया दिएको छ ।
टिप्पणीहरू