अब चौँथो चरणको आन्दोलन
नेकपा (बहुमत) ले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटनबिरुद्ध चौथो चरणको आन्दोलन घोषणा गरेको छ । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि उक्त कदमलाई गैरसंवैधानिक भन्दै नेकपा (बहुमत) ले चरणबद्ध आन्दोलन गर्दै आएको छ ।
पार्टीले आज पेरिसडाँडा कोटेश्वरमा आयोजना गरेको पत्रकार सम्मेलनमा यसअघिका तीन चरणको आन्दोलन सफल भएको घोषणा गर्दै चौथो चरणको आन्दोलन कार्यक्रम सार्वजनिक गरिएको हो ।
केन्द्रीय संघर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा आन्दोलनको लक्ष्य र उध्देश्यबारे स्पष्ट पार्दै केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले सिंगो देश आन्दोलनमय बनेको र निरंकुश सरकारको बढ्दो अवैधानिक, जनविरोधी,दमनकारी क्रियाकलापका विरुद्ध लाखौं जनसमुदायको सहभागितामा संघर्ष चर्कंदै गएको,आन्दोलन छिट्टै सफलताको विन्दुमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
फागुन पाँच गतेदेखि पन्ध्र गतेसम्मको कार्यक्रम तालिका सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध संविधान र लोकतन्त्र पक्षधर सबैलाई समर्थन र सहयोग गर्न आग्रह गरिएको छ ।
कार्यक्रमअनुसार विभिन्न जिल्ला तथा स्थानीय निकायहरूमा बिरोध प्रदर्शन गर्ने,मानवसाङ्लोले टुँडिखेल घेर्ने,पालिकास्तरीय विरोध कार्यक्रम गर्ने,लोकतन्त्रको पक्षमा सार्वजनिकस्थलमा हस्ताक्षर संकलन गर्ने, प्रतिगमनविरुद्ध अन्तरक्रिया गर्ने, हत्या,हिंसा,बलात्कारविरुद्ध महिलाहरूले विरोध कार्यक्रम गरिनेछ ।
त्यसैगरी विभिन्न जातीय मोर्चाहरूको आयोजनामा विरोध कार्यक्रम गर्ने, चितवन, दाङ, जनकपुर, नेपालगञ्ज लगायतका शहरहरूमा विरोधसभा गर्ने, संघीय तथा प्रदेश राजधानीमा संघर्षको सिर्जनात्मक कार्यक्रम आयोजना गर्नेलगायतका कार्यक्रमहरू तय भएको पत्रकार सम्मेलनमा बताइएको थियो ।
नेकपा (बहुमत) ले प्रधानमन्त्री ओलीविरुद्ध संघर्षको लक्ष्य र उद्देश्य पूरा नभएसम्म संघर्षलाई जारी राख्ने घोषित नीति एवम् प्रतिबद्धताअनुरूप चौथो चरणको संघर्षको कार्यक्रम सार्वजनिक गरेको हो ।
टिप्पणीहरू