पहिला प्रमाण, अनि पक्राउ : के हुँदैछ भागरथी हत्याको अनुसन्धान ?

पहिला प्रमाण, अनि पक्राउ : के हुँदैछ भागरथी हत्याको अनुसन्धान ?

डेढ वर्षअघि कञ्चनपुरमा बलात्कारपछि गरिएको निर्मला पन्तको हत्यामा संलग्नहरूको ठोस पहिचान गर्न नेपाल प्रहरीलाई अहिलेसम्म हम्मे परेको छ । शुरुदेखि नै उक्त मुध्दा राजनीतिकरणसँगै गिजोलिएपछि अहिले बैतडीकी किशोरी भागरथी भट्टको हकमा प्रहरी सबैभन्दा पहिले प्रमाण जुटाउने तयारी र अभियानमा देखिन्छ ।

त्यसको लागि डीआईजी उत्तम सुवेदी आफैँ दश दिनदेखि बैतडीमा खटिएका छन् । उनी अपराधी पत्तो नलगाई मुकाम नफर्कने योजनाका साथ दिनरात खटिएको बताइन्छ । यतिखेर हवल्दार,असई र सई बस्ने चौकीमा डिआईजी सुवेदी अपराधी पत्ता लगाउन आफैँ धर्ना कसेर बसेका छन् ।

यसबीच शंकास्पद मान्छे पक्रने,उनीहरूको कल डिटेल हेर्ने सबै काम भइरहेको छ । भट्टको साथमा रहेको मोबाइल सेटलाई आवश्यक अनुसन्धान गर्न विधि विज्ञानशाला काठमाडौंमा पठाएर सबै विवरण हेर्ने र बुझ्ने काम भइरहेको स्रोतको दाबी छ । राजधानी र बैतडी प्रहरीबीच ‘टु वे कम्युनिकेशन’ भइरहेकोले अब अन्तिम निश्कर्ष र प्रमाणको लागि अनुसन्धान छ जना शंकास्पदहरूतर्फ केन्द्रित भएपछि त्यसबाट पत्तो लाग्नेमा प्रहरी ढुक्क देखिन्छ ।

सुदूर पश्चिमकै घटना भएकाले निर्मला पन्तको केसमाझैँ यसपटक पनि अनुसन्धानको क्रममा जनता नउत्रिउन् भन्नेतर्फ प्रहरी सचेत देखिएको छ । उसले विधि विज्ञानबाट सबै प्रमाण ‘कन्फर्म’ भएपछि मात्र अरु प्रक्रिया अघि बढाउने योजना बनाएको छ ।

पछिल्लो समयमा नेपाली समाजमा हत्या,हिंसा र बलात्कारका घटना अचाक्ली बढेका छन् । अपराधीले बाहेक अरु नातागोता र छिमेकीले गर्ने बलात्कारलगायतका अपराधमा अपराधी पत्ता लगाउन प्रहरीलाई कुनै आइतबार कुर्न पर्दैन । तर,हत्यासमेत जोडिएको अपराधमा प्रहरीलाई अपराधी पत्ता लगाउन निकै मेहनत गर्नुपर्ने देखिँदै आएको छ । अहिले मुलुकभर औसतमा दिनहुँ ५ देखि ६ वटा बलात्कारका घटना हुने गरेको छ ।

टिप्पणीहरू