प्युठान घटनामा विप्लवको चेतावनी
प्युठानको माण्डवी गाउँपालिका ४, माझपोखराका स्थानीयले खानेपानीबारे छलफल गरिरहेको अवस्थामा सरकारको तर्फबाट गुण्डागर्दी गरिएको भन्दै नेकपा विप्लवले आपत्ति जनाएको छ । आगामी दिनमा त्यस्तो कार्य दोहोरिएमा प्रतिरोध गर्ने चेतावनीसमेत दिइएको छ ।
जिल्ला सेक्रेटरी अजयले हिजो जारी गरेको प्रेस विज्ञप्तिमा फागुन १ गते स्थानीय जनताले खानेपानीवारे गरेको छलफलमा छ जना विना वर्दीका प्रहरीले हतियार देखाउँदै गोली ठोक्न दिएको आदेशपछि स्थानीयलाई लखेटिएको बताइएको छ ।
सामाजिक कार्यमा संलग्न स्थानीयलाई आतंकित बनाउने, प्रहरीको नाङ्गो दमन भएकोले सर्वसाधारण जनता भेला भई सामाजिक विषयमा छलफल समेत गर्न नपाउनु कथित संविधानप्रदत्त मौलिक हक र मानवअधिकारको उल्लंघन भएको विप्लव समूहले निश्कर्ष निकालेको छ ।
उसले भनेको छ ‘यस्ता प्रकारका गतिविधि कथित कम्युनिष्ट नामधारी केपी–बादल सरकारले नसच्याए जनताले प्रतिरोध गर्न बाध्य हुनेछ । यस्ता गतिविधिको डटेर सामना गर्नको निम्ति सम्पूर्ण प्युठानवासी जनसमुदायमा अपिल गर्दछौं ।’
टिप्पणीहरू