देउवा यसपालि उत्रने कि डुब्ने ?
प्रधानमन्त्री केपी शर्मा ओलीका हरेक कदमसँग सहमत भएपनि, असहमत भएपनि प्रमुख विपक्षी दलका नेता तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बैशाखमा चुनाव हुनेमा पूर्ण विश्वस्त देखिनुहुन्छ । भारतीय राजदूत विनयमोहन क्वात्राको हालैको दौडधुपलाई नियालेका एकजना विश्लेषक भन्छन् ‘भारतीय संस्थापन पक्षले अहिलेको अवस्थामा सबैभन्दा धेरै शेरबहादुरको विश्वासलाई दह्रो मान्ने गरेको छ ।’
देउवाको विश्वासलाई भारतीय पक्षले अन्यकोभन्दा बढी विश्वास गर्नुमा दुई तीन वटा कुरालाई आधार मानिएको छ । सबैभन्दा ठूलो कुराचाँहि यतिखेर राणा खलकसँग जोडिएको कारण प्रधानन्यायाधीशको योजना र कुरोको संकेत शेरबहादुरलाई प्राप्त भएको हुनसक्छ । दोस्रो, भारतले पनि देउवालाई केही कुरा भनेको हुनसक्छ । त्यस आधारमा उहाँ चुनाव हुने दृढ विश्वासमा देखिनुभएको हुनुपर्छ ।
उता भारतीयपक्ष पनि चुनाव हुनेमा ‘कन्फिडेन्ट’ रहेको स्रोतको दाबी छ । भारतीयहरूले अनुमान र भविश्यवाणी नभई चुनावको लागि काम गरिरहेको समेत बताइन्छ । किनभने उनीहरू नेपालमा चुनाव हुनु नै आफ्नो स्वार्थअनुकूल रहेको निश्कर्षमा पुगेका छन् । तर,भारतलाई एउटै मात्र शंका अदालतले समयमा फैसला नगर्ला कि भन्नेमा मात्र हो । त्यसो हुँदा बैशाखमा चुनाव हुन नसके थप जनप्रदर्शन र राजनीतिक ध्रुवीकरण हुने भएकाले बैशाखमै चुनाव हुनुपर्ने निचोड हो ।
भारत र देउवालेझैँ प्रधानमन्त्री ओली पनि चुनाव हुनेमा पूर्णरूपमा विश्वस्त हुनुहुन्छ । बालुवाटारले भारतलाईसमेत त्यहि विश्वास दिलाएको स्रोतको दाबी छ । तर,सबै कुरो अहिले अदालतको फैसलामा आएर अडिएको छ । अदालतको हालसम्मको प्रक्रिया र गतिविधि हेर्दा उसले प्रधानमन्त्री,देउवा र भारतले गरेको आशातित समयभित्र फैसला गर्नेमा आशंका पैदा हुन थालेको छ । फागुन १५ गतेभित्र फैसला आएको अवस्थामा पनि चुनाव गराउने मुडमा तीनै पक्ष देखिन्छन् । त्यसपछि स्वतः प्रधानमन्त्रीको पक्षमा वातावरण जान्छ भन्ने निश्कर्ष लैनचौरले सबैलाई सुनाइसकेको छ ।
प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर भयो भने पनि भारतलाई फाइदै पुग्ने उनीहरूको हिसाब छ । किनकि त्यसो हुँदासमेत भारतलाई दुवै हातमा लड्डुको अवस्था रहन्छ । तरपनि भारत बैशाखमै चुनाव होओस् भन्ने पक्षमा खटेको बुझिएको छ । त्यसो हुँदा काँग्रेसको नेतृत्वमा वैधानिक सरकार बन्ने अनुमान हो । उसको निश्कर्ष ‘मेजोरिटी’ काँग्रेसको पक्षमा जान्छ भन्ने नै हो ।
तर,काँग्रेस नेताहरू डा. रामशरण महत, विमलेन्द्र निधी, डा. मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसीहरूलाई भने दुई दशकअघिझैँ यसपटक पनि देउवा विश्वासै विश्वासमा डुब्ने आशंका छ । पहिले पनि राजा ज्ञानेन्द्रलाई अति विश्वासमा लिएकाले देउवा नराम्रोसँग राजनीतिक आहालमा डुब्नुभएको थियो ।
टिप्पणीहरू