बाग्मतीमा फेरि जालझेल
बाग्मती प्रदेशसभा स्थगनको विरोधमा बुधबार विरोधपत्र पेश भएको छ । नेकपा स्थायी कमिटी सदस्य तथा नेकपा बाग्मती प्रदेश संसदीय दलकी नेतृ अष्टलक्ष्मी शाक्य नेतृत्वको टोलीले प्रदेशकी उपसभामुख राधिका तामाङ्गको उपस्थितिमा विरोधपत्र पेश गरेको हो ।
यसअघि प्रदेशसभाको बैठक माघ १९ गतेलाई तोकिए पनि अनिश्चितकालका लागि स्थगन हुँदै आएको थियो । प्रदेशसभाको सातौँ बैठक पुनः स्थगन गरिएपछि त्यसको विरोधमा प्रदेशसभाका संसदहरूले आज संसद सचिवालयमा विरोध पत्र पेश गरेका हुन् ।
संसदको बैठक छल्न मुख्यमन्त्री डोरमणि पौड्यालको इशारामा सभामुख सानुकुमार श्रेष्ठले उक्त हर्कत गरेकाले आफूहरूले सोको विरोधमा पत्र पेश गरेको प्रदेश सांसद तथा पूर्व उद्योग,पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले बताउनुभएको छ ।
दिउँसो २ बजे बस्ने गरी समय निर्धारण गरिएको बैठक विशेष कारण जनाउँदै स्थगन गरिएको संसद सचिवालयले माननीयहरूलाई आजै बिहान एसएमएसमार्फत् जानकारी गराएको थियो ।
सचिवालयले बैठक अर्को सूचना जारी भएपछि मात्र सञ्चालन हुने सूचना टाँस गरेर स्थगित गरेको छ । पुस १० गते मुख्यमन्त्री पौडेलविरुद्ध ४५ जना सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको छ । त्यसपछि विभिन्न नाममा बैठक स्थगित हुँदै आएको छ ।
टिप्पणीहरू