तरुनी लगाएर ठग्ने हरि समातिए

तरुनी लगाएर ठग्ने हरि समातिए

विभिन्न व्यक्तिलाई सामाजिक सञ्जालमार्फत् लाखौं रूपैयाँ ठग्ने र बेलायतमा बस्ने भनिएका नक्कली डाक्टर माइकल अल्बर्ट नामका हरिप्रसाद बस्याललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले हिजो मंगलबार दिउँसो गोंगबुबाट पक्राउ गरेको छ । पर्वतको टकलाक–४ घर भई हाल टोखा नगरपालिका ११ स्थित भण्डारी टोलमा बस्ने वर्ष ४५ का बस्यालले फेसबुक मेसेञ्जर र ह्वाट्सएपमार्फत् बेलायतको नम्बर ००४४७४२४४२७६४८ उपलब्ध गराएको, त्यहि नम्बरबाट कुराकानी गर्दै बेलायतबाट आइफोन पठाइदिने प्रलोभन देखाएर १० लाख ७० हजार रूपैयाँ ठगेवापत प्रहरीले पक्राउ गरी आवश्यक कारबाही शुरु गरेको हो ।
घटनाक्रमअनुसार बस्यालले पीडिततहरूलाई बेलायतबाट पठाएको आईफोनलगायतका उपहार भारत हुँदै आएको बताएका थिए । त्यसलाई थप विश्वस्त तुल्याउन उनले भारतीय मोबाइल नम्बर ००९१८७२९९१५८६९ समेत उपलब्ध गराएर नेपाली भाषामा महिलालाई बोल्न लगाउँथे । ती महिलाले आईफोन र उपहारको आश गरेर बसेकालाई बेलायतबाट आएको तपाईंको पार्सल नयाँ दिल्ली आइपुगेको र बेलायती पौण्डसमेत रहेको पार्सल छुटाउन कर रकम तिर्नुपर्ने भएकाले नेपालस्थित विभिन्न बैंकमा रकम जम्मा गर्न खाता नम्बर टिपाउँथिन् ।
सित्तैमा मोबाइल र उपहार पाउने आशमा बसेका पीडित तर ‘मूर्ख’ नेपालीले तिनै महिलाले अह्राएबमोजिम बैंक खाता र कतिपय अवस्थामा काठमाडौंमा रहेका एजेण्टलाई भेटेरै रकम उपलब्ध गराएको अनुसन्धानमा खुलेको छ । प्रहरीको अनुसन्धानबाट विभिन्न व्यक्तिको बैंक खातामा १० लाख ७० हजार जम्मा गरिएको भेटिएको छ । त्यसमध्ये ५ लाख २० हजार रूपैयाँ गोंगबुस्थित कालिगण्डकी गेष्टहाउसमा विभिन्न व्यक्तिको हातमा रकम राखेपछि पनि बस्यालले थप रकम मागेपछि उनीहरू ठगिएको रहस्य खुलेको हो ।

टिप्पणीहरू