स्वास्थ्यमन्त्रीको सोधाइ ‘पैसा कमाउने वकिलले पनि सित्तैँ खोप माग्ने ?’
मंगलबार नेपाल बार एसोसिएशन महिला समितिका पदाधिकारीहरू महिला कानुन व्यवसायीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराइदिन स्वास्थ्य मन्त्रालय गएका थिए । महिला हिंसा, बलात्कारलगायतका मुद्दामा पीडित, अपराधी, प्रहरी र सम्बन्धित पक्षसँग हुने नियमित भेटघाटले संक्रमणको जोखिम बढाउने भएकाले उनीहरूले उक्त पहल गरेका हुन् ।
तर,खोपको बारेमा अनुरोध गर्न गएका समितिका अध्यक्ष रक्षा बस्याललगायतका चार जना पदाधिकारीलाई मन्त्री हृदयेश त्रिपाठीले शुरुमै प्रवचन दिएपछि उनीहरूले अचम्म मानेका छन् । भेटघाटमा उपस्थित एकजना महिला कानुन व्यवसायीकाअनुसार मन्त्री त्रिपाठीको प्रवचनको सार थियो ‘वकिलहरू पैसा कमाउँछन् तर पनि निःशुल्क खोप माग्छन् ।’
मन्त्रीको उक्त कुरो सुनेपछि कानुन व्यवसायीहरूले पनि राम्रैसँग जवाफ फर्काउँदै भने ‘हो, मन्त्रीज्यू हामी कमाउँछौं तर इमान्दारितापूर्वक कमाउँछौं । त्यसरी कमाएको रकममध्ये केही सामाजिक कार्यमा पनि लगाएका छौं । हामी बिचौलिया बन्दैनौं र बिचौलिया प्रयोग गरेर भ्रष्टाचार पनि गर्दैनौं ।’
महिला कानुन व्यवसायीहरूले सरकारले खरिद गर्न लागेको कोभिडविरुद्धको खोपमा आर्थिक अनियमितता र कमिशनको चक्कर चलेको खबर बाहिरिएको सन्दर्भलाई जोडेर मन्त्रीलाई जवाफ दिएको हुनसक्ने आँकलन गरिएको छ । भेटघाटको निम्ति मन्त्रालयमा समितिका अध्यक्ष,महासचिव र दुईजना सदस्य गरी चार जना पदाधिकारी गएका थिए ।
टिप्पणीहरू