करोडौं ठग्ने अदालत चलान
पैसा नभएको बैंक खाताको चेक भिडाउँदै करोडौं रुपैयाँ ठगेकोमा उच्च अदालत,पाटनले बैंकिंग कसुर (चेक बाउन्स) मा कसुरदार ठहर्याएको तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई विभिन्न स्थानबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी फैसला कार्यान्वयनको निम्ति चितवन जिल्ला अदालतमा पेश गरिएको हो । प्रहरीले हालै पक्राउ गरेकाहरूमा भरतपुर–१४, चितवनका ५१ वर्षे रामबहादुर अधिकारी,चन्द्रागिरी–२, काठमाडौंका ३१ वर्षे सुवास थापा र गोरखाको गण्डकी गाउँपालिका–२ का २९ वर्षका विष्णु अंगाई हुन् ।
सामाखुशी रानीबारीस्थित रानीबारी अटो प्रालिका सञ्चालक अधिकारीलाई विभिन्न मितिमा विभिन्न मानिसलाई ठगी गरेको आरोपमा २ करोड ३२ लाख २४ हजार १ सय जरिवाना र ५५ दिन कैद सजाय तोकिएको थियो । बेरुजु रहेको त्यही जरिवाना र कैद सजाय कार्यान्वयन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले निजलाई खैरेनी–८ चितवनबाट पक्राउ गरी जिल्ला अदालतमा पुर्याएको हो ।
त्यसैगरी, उच्च अदालत पाटनले ठगी गरेको आरोपमा १७ दिन कैद र ५९ लाख ७९ हजार रुपैयाँ जरिवाना तोकेको सुवास थापालाई पनि ब्युरोले पुल्चोक, चितवनबाट पक्राउ गरी जिल्ला अदालत चितवन पुर्याएको छ । अर्का ठग विष्णु अंगाईलाई पनि उच्च अदालत पाटनले १ महिना कैद र १० लाख रुपैयाँ जरिवाना ठहर गरेपछि लुकिछिपी बस्दै आएकोमा प्रहरीले भरतपुर, चितवनबाट पक्रेर फैसला कार्यान्वयनको लागि जिल्ला अदालतमा पेश गरेको हो ।
यसबीच फरार अपहरणकारी १२ वर्षपछि पक्राउ
१२ वर्षअघि योजना बनाई, अपहरण गरी बन्धक बनाई ज्यान मार्ने धम्की दिई फिरौती वापत १ करोड ५० लाख रूपैयाँ असुल्ने अपहरणकारीहरूमध्येका एकजनालाई प्रहरीले हालै पक्राउ गरेको छ । २०६५ साल पुस २ गते बाबुराजा रावललाई अपहरणपछि राती टोखामा छाड्ने प्रल्हाद महत, विष्णु जिसी,सोले कुमार भनिने दुर्गाबहादुर बुढाथोकी, बंगुरे भनिने विकास कार्की, सोल्टी भनिने टासी गुरुङ्ग, विनोद कार्की, अनिल गुरुङ्गमध्ये बुढाथोकीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले हालै पशुपतिनगरबाट पक्राउ गरेको हो ।
विभिन्न अपराधमा संलग्न भण्डारीले यसबीच आफ्नो पहिचान परिवर्तन गरी दार्जिलिङ्गमा प्रकाश स्टोर्स खोलेर कपडाको होलसेल पसल सञ्चालन गर्दै आएका थिए । त्यसअघि उनी बानेश्वरस्थित एभरेष्ट होटलको पार्किङ्गबाट मोटरसाइकल चोरेको अभियोगमा समेत पक्राउ परेको बेला प्रहरीको बानेश्वर वृत्तको हिरासत कक्षबाट ग्रील भाँचेर भागेका थिए ।
प्रहरीका अनुसार भण्डारीमाथि अमर टण्डन र उदय सेठ्ठीको समूहमा रही अपहरण तथा गुण्डागर्दी गरेको आरोप समेत कायम छ ।
टिप्पणीहरू