यौटै जहाजमा दुईथरि माओवादी
नेकपा (बहुमत) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पहिले प्रतिनिधिसभा विघटनविरुद्ध उभिए पनि पछि क्याम्प परिवर्तन गरेर मन्त्री बनेका पूर्वमाओवादी नेता प्रभू साह आज सँगै सिमरा पुग्नुभएको छ ।
बुद्ध एअरको उडान नम्बर ९एन एआईटी ५५१ मा शहरी विकास मन्त्री शाहसँगै उहाँका पूर्वसुप्रिम कमाण्डर दाहाल र पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ मधेश झर्नुभएको हो ।
उडानअघि उहाँहरू आन्तरिक विमानस्थलको भीआइपी लाउञ्जमा एकछिन सँगै बस्दा सामान्य हालखबर र सञ्चो बिसञ्चोको सोधनी भएको स्रोतको दाबी छ । अध्यक्ष दाहालले ‘के छ प्रभूजी ?’ भनेपछि उहाँ आजको अप्रत्यासित जम्काभेटमा लाजले काठमाण्डौंको जाडोमा पनि असिनपसिन हुनुभएको थियो । अघिल्लो दिनसम्म प्रचण्डसँग र भोलिपल्ट मन्त्री पाएपछि क्याम्प चेञ्ज गरेकाले साह लाजले भुतुक्क भएको बताइन्छ । त्यसैले उहाँहरूबीच त्यति लामो कुरा भएन ।
अध्यक्ष प्रचण्ड पर्सि शनिवार अख्तियार प्रमुख प्रेम राई र प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको गृहजिल्ला संखुवासभा जाने कार्यक्रम छ । त्यहाँका नगरपालिका र गाउँपालिकामा अहिले ओली खेमाको बाहुल्य रहेको बताइन्छ । नेकपा (बहुमत) ले संखुवासभामा आयोजना गर्ने कार्यक्रममा सहभागी हुन दाहाल र अर्का अध्यक्ष माधवकुमार नेपाल त्यता जान लाग्नुभएको हो ।
टिप्पणीहरू