मैनालीको दुखेसो : मिडियाले “इजलासले र्याखर्याखती पार्यो” भनेर लेखे
वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले हिजोको आफ्नो बहसलाई लिएर सञ्चारमाध्यममा आएका समाचारप्रति आज इजलासमा आपत्ति जनाउनुभएको छ । न्यायाधीशहरूले र्याख्र्याख्ती पारेको भनेर सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेको भन्दै उहाँले असन्तुष्टी जनाउनुभएको हो ।
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बुधबार एमिकस क्युरीका तर्फबाट राय दिनुभएका मैनालीलाई इजलासले प्रश्नैप्रश्न गरेको थियो । आज आफ्नो बहसलाई निरन्तरता दिनुभएका उहाँलाई फेरि प्रश्न सोधिएपछि सञ्चारमाध्यममा आएका समाचारबारे असन्तुष्टि जनाउनुभएको हो ।नेकपाको आन्तरिक विवादका कारण प्रधानमन्त्री संसद विघटन गर्न बाध्य हुनुपरेको भन्दै हिजोको बहसलाई अगाडि बढाउनुभएका मैनालीलाई न्यायाधीश अनिलकुमार सिन्हाले नेकपाको विवादका कारण संसद विघटन गर्न मिल्छ कि मिल्दैन भनेर हिजो सोधिएको प्रश्नलाई आज पनि दोहोर्याउनु भएको थियो ।
‘पार्टीको आफ्नै विधान हुन्छ, पार्टीको विवाद त्यहि विधानअन्तरगत रहेर समाधान हुनुपर्ने हैन र ? नेकपाको विवादको शिकार प्रतिनिधिसभा भइदिनुपर्ने ? पार्टीको विवादले उत्पन्न समस्याको नतिजा जनताले व्यहोर्नुपर्ने ?,’ सिन्हाले प्रश्न गर्नुभयो ।
मैनालीले आफू एमिकस क्युरीको तर्फबाट राय दिन आएको भए पनि मिडियाले र्याख्र्याख्ती पारेको भनेर समाचार लेखेको भन्दै असनतुष्टी जनाउँदै जवाफ दिन थाल्नुभयो । ‘हिजो इजलासमा र्याख्र्याख्ती पारियो भनेर समाचार आयो, यो कस्तो पत्रकारिता हो ?’
उहाँले नेकपामा विवाद र विग्रह देखिए पनि आधिकारिक रुपमा संसदीय दलमा नआएकाले संसदको विषय नबनेको बताउनुभयो ।
‘पार्टीभित्रको विवादको आधिकारिकता अझै विवादमा छ । केही विग्रह, असहमति अवश्य पनि देखिएका छन्, तर त्यो विवादबारे संसदीय दलमा प्रक्रिया शुरू नै भएन,’ उहाँले भन्नुभयो, ‘दलको नेताले आफूलाई विश्वास गुमेको या नगुमेको भन्ने कुरा पार्टीमा पटक पटक टेष्ट गर्नु पर्दैन ।’
एकपटक दलको नेता चयन भइसकेपछि दलमा फेरि विश्वास लिन आवश्यक नपर्ने भन्दै उहाँले भन्नुभयो, ‘म वकिल हो कि होइन भनेर मैले कतिपटक टेष्ट गर्ने ? प्रमाणपत्र खोज्दै कतिपटक हिँडने ?’
त्यति भनेपछि मैनालीको बहस पनि सकिएको छ । त्यसपछि सर्वोच्च अदालत बार एशोसियशनका अध्यक्ष तथा एमिकस क्युरीका प्रतिनिधि पूर्णमान शाक्यले आफ्नो राय दिन थाल्नुभएको छ ।
टिप्पणीहरू