यसवर्षको राधा क्यान्सर सचेतना राष्ट्रिय पत्रकारिता पुरस्कार केसीलाई
यसवर्षको राधा क्यान्सर सचेतना तथा हिंसाबिरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार बर्दियाकी समृद्धा केसीलाई प्रदान गरिने भएको छ ।
राधा क्यान्सर सचेतना फाउण्डेसनले स्थापना गरेको राधा स्मृति अक्षयकोषबाट पुरस्कार प्रदान गर्न लागिएको हो । स्वर्गीय पत्रकार राधा बस्यालको स्मृतिमा परिवारले २ लाखको अक्षय कोष स्थापना गरेको हो । सोही कोषबाट हरेक वर्ष वार्षिक ब्याजरकम बराबरको २० हजार राशीको ‘राधा क्यान्सर सचेतना तथा हिंसा विरुद्धको पत्रकारिता पुरस्कार’ दिन लागिएको फाउण्डेसनका अध्यक्ष प्रकाश बस्यालले जानकारी दिनुभयो ।
यस वर्षका लागि गएको माघ ४ गते पत्रकार सम्मेलन गरि आवेदन माग गरिएको थियो । यस वर्षको वैशाखदेखि पुस मसान्तसम्म प्रकाशित प्रसारित लेख सामग्रीका आधारमा आवेदक मध्येबाट महिला स्वास्थ्य डटकममा कार्यरत पत्रकार केसी छनौट हुनुभएको फाउन्डेसनले जनाएको छ ।
पुरस्कार यहि फागुन ९ गते आइतबार बिहान ७ बजे कावासोती सिमलघारीस्थित बस्याल निवासमा विश्व प्रेस काउन्सिलका महासचिव एवं प्रेस काउन्सिल नेपालका निवर्तमान कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको प्रमुख आतिथ्यतामा वितरण गरिने अध्यक्ष बस्यालले बताउनुभयो ।
वि.स २०४८ सालमा जन्मिएकी पत्रकार राधा बस्यालको २०७७ कार्तिक १४ गतेका दिन स्तन क्यान्सरको कारणले निधन भएको थियो । एक दशक भन्दा लामो समयदेखि नवलपुरमा रहेर पत्रकारिता गर्दै आएकी राधाले वैवाहिक जीवनपछि व्यक्तिगतरुपमा घरेलु हिंसा र क्यान्सरसँग लड्दै आउनुभएको थियो ।
उहाँले समाजमा महिला हिंसा र स्तन क्यान्सरको विषयमा सचेतना अभियान सन्चालन गर्न राधा क्यान्सर फाउन्डेसनको स्थापना गरेर गाउँ गाउँमा सचेतना अभियानसमेत चलाउनुभएको थियो । राधाको निधनपश्चात फाउन्डेसनलाई उहाँका भाइ पत्रकार प्रकाश बस्यालले निरन्तरता दिनुभएको छ ।
टिप्पणीहरू