मूल्यबृद्धि र भाडाबृद्धि, आयल निगम घेराउ
पछिल्लो एक साताभित्र दुई पटक पेट्रोलियम पदार्थको मूल्य बढाइएको विरोधमा आज नेकपा (बहुमत) निकट अखिलले नेपाल आयल निगम,बबरमहलमा प्रदर्शनसहित धर्ना दिएको छ । धर्नापछि अनेरास्ववियुले चर्को मूल्यबृद्धिको विरोधमा निगमलाई ज्ञापनपत्र बुझाएको हो ।
निगमले पछिल्लो पटक फागुन ४ गते र त्यसअघि माघ २८ गते पेट्रोलियम पदार्थको भाउ बढाएको थियो । अघिल्लो पटक खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रूपैयाँ,पेट्रोल र डिजेलमा प्रतिलिटर दुई रूपैयाँ बढाइएको थियो ।
हिजोदेखि लागू हुनेगरी डिजेल, पेट्रोल,मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्यमा प्रतिलिटर थप दुई रूपैयाँ बढाइएको छ ।
उता,यातायात व्यवसायीहरूले भने तेल र सवारीका पार्टपुर्जामा भएको चर्को मूल्यबृद्धिलाई देखाउँदै ४० प्रतिशतसम्म भाडा बढाउन माग गरेका छन् । पटक पटकको मूल्यबृद्धिका कारण यातायात व्यवसायीहरूले विद्यमान भाडादरमा यातायातको साधन सञ्चालन गर्न नसक्ने भन्दै असन्तुष्टि जनाएका छन् ।
विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोध गरिरहँदा उता नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भने फागुन ८ गतेसम्म मूल्यबृद्धि फिर्ता नलिए भाडा बढाउनेतर्फ आवश्यक निर्णय लिन सरकारलाई अल्टिमेटम दिएको छ ।
व्यवसायीहरूले डिजेलमा प्रतिलिटर झण्डै ३० रूपैयाँ बढिसक्दा पनि पहिलेकै भाडादरमा यातायात गुडाउन नसक्ने बताउन थालेका छन् । ‘कोरोना महामारीपछि भएको तेलको चर्को भाउबृद्धिले पुरानै भाडादरमा अब गाडी गुडाउन सकिँदैन’ उनीहरूको निश्कर्ष छ ।
सरकारले २०६५ फागुनदेखि वैज्ञानिक भाडादर समायोजन कार्यविधि लागू गरेको भन्दै तत्काल भाडा नबढ्ने बताएको छ । तर,चुनाव र राजनीतिक स्वार्थको निम्ति व्यवसायीहरूको सामुन्ने अडान लिन नसक्ने स्रोतको दाबी छ ।
टिप्पणीहरू