ओली र देउवामा मिलेको संयोग

ओली र देउवामा मिलेको संयोग

नेपाली काँग्रेसको बुधबार बसेको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवा महाधिवेशनको मितिबारे छलफल गरेलगत्तै अरु नेतासङ्ग तातेपछि धेरैले अचम्म मानेका छन् । त्यहिबेला एकजना सदस्यले थप अचम्भित हुँदै भने ‘सभापतिजीले गर्न खोज्नुभएको के हो ?’

छलफलको क्रममा महाधिवेशनको मिति आगामी भदौ तोकिनुपर्ने माग सभापति निकट सदस्यहरूले राखेका थिए । त्यो सुन्नेबित्तिक्कै इतरपक्षका सदस्यहरूको मनमा ‘महाधिवेशन गर्न नखोजिएको’ भन्ने चिसो पस्यो । कुरो स्पष्ट हुँदै आएको सबैले बुझेकै थिए- सभापति परिस्थिति आफू अनुकूल भएपछि मात्र महाधिवेशन गर्ने मनस्थितिमा हुनुहुन्छ । त्यसैले उहाँ र उहाँको कोर टिम हाललाई महाधिवेशन नगर्ने मुडमा प्रस्तुत भएको हो ।

प्रधानमन्त्री ओलीलाई सजिलो बनाउँदै आउनुभएका देउवा र उहाँको टिमले बालुवाटारबाट यसबीच एउटा अध्यादेश जरुरी ठानेको छ । त्यसो भएमा झनै दिलोज्यान दिएर आफूहरू प्रधानमन्त्रीलाई सघाउन तयार रहेको खबर देउवापक्षले बालुवाटारलाई दिइसकेको वरिष्ठ नेता रामचन्द्र पौडेल निकट नेताहरूको दाबी छ । ऐनमा तोकिएको मितिमा महाधिवेशन गर्न असम्भव देखिएकाले राजनीतिक दलसम्बन्धी अध्यादेशमा कार्यकाल लम्ब्याउन सकिने वा विशेष परिस्थितिमा उक्त दफा निलम्बन गर्न सकिने व्यवस्था बूढानीलकण्ठले चाहेको बताइन्छ ।

त्यसो गर्नुको उद्देश्य कति सकिन्छ त्यतिसम्म तन्काएर पार्टी सभापति चलाउने दाउमा देउवा रहनुभएको काँग्रेसभित्रैका फरक मत राख्नेहरूले बताएका छन् । यसबीच दक्षिणतर्फका मित्र पनि सोचेझैँ अनुकूल नबनेको र अरु शक्ति पनि प्रतिकूल भएपछि महाधिवेशन लम्ब्याएर टिक्नुको विकल्पमा काँग्रेस नेतृत्व नरहेको अर्थ लगाउन थालिएको छ ।

यता प्रधानमन्त्रीले सत्ता लम्ब्याउन गर्नुभएको संसद विघटन र उता प्रमुख विपक्षी दलका नेता देउवाले सम्भावित सत्ताप्राप्तिको आशक्तिमा महाधिवेशन छल्ने योजना बनाउनुलाई अचम्मको संयोग मानिएको छ । राष्ट्रिय राजनीतिमा देखिएको पछिल्लो अवस्था र प्रमुख राजनीतिक दलहरूमा मौलाएको प्रवृत्तिले व्यवस्था फेरियो,राजनीतिक पात्र फेरिए तर खराब प्रवृत्ति घट्नुको सट्टा झन् बढ्दै गएको विश्लेषकहरूले टिप्पणी गरेका छन् ।

हिजोको बैठकमा केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला र पौडेलले संयुक्त रूपमा सभापति देउवालाई ‘तपाईं संसद पुनर्स्थापनाको पक्षमा उभिनुहोस् साथै तपाईंले सिफारिश गर्नुभएअनुसार संवैधानिक नियुक्ति पाएकालाई पनि फिर्ता बोलाउनुहोस्’ मात्र के भन्न भ्याउनुभएको थियो उहाँ बुरुक्क उफ्रनुभएको बताइन्छ । बैठकमा अधिवेशनको मितिबारे सामान्य कुरा मात्रै भएको थियो सभापति तातेपछि बैठक नै भाँडियो ।

सभापतिको अचम्मको व्यवहार हुन थालेपछि काँग्रेसी नेताहरूले राजनीतिक परिस्थितिलाई विभिन्न कोणबाट विश्लेषण गर्न थालेका छन् । उनीहरूका अनुसार बैशाखमा चुनाव नभएको अवस्थामा सभापतिलाई प्रधानमन्त्रीको अफर गरिएको छ । चुनाव हुने छाँटसमेत नभएकाले शीतल निवासले देउवालाई बैशाखमा प्रधानमन्त्रीको टिका लगाइदिएको अवस्थामा पौडेल र सिटौलाहरूले देउवालाई पार्टीबाट हटाउने बालुवाटारको निश्कर्ष छ । त्यस्तो बेलामा काँग्रेस फुट्ने सम्भावना प्रवल हुने र प्रधानमन्त्री ओली नेतृत्वको नेकपा ठूलो पार्टी बन्ने विश्वास बालुवाटार र शीतल निवास दुवैतिरको जोड घटाउमा देखिएको हो ।

यता निर्वाचन आयोगमा अहिले नेकपा र सूर्य चिन्ह नेकपाको दुवै समूहलाई नदिएर फ्रिज गर्ने योजना पनि त्यहि रणनीतिसँग जोडिएको भन्नेहरू पनि छन् । कुनै अवस्थामा निर्वाचन हुँदा प्रधानमन्त्री ओलीले आफू असारमै दर्ता भएको पूर्व एमालेबाट लड्ने र प्रचण्ड तथा नेपालहरू दलविहीन हुने अर्को रोडम्यापसमेत देउवालाई जानकारी भएको बताइन्छ । अहिले प्रधानमन्त्री केपी र काँग्रेस सभापति देउवाको साँठगाँठ र योजना यहि हो भनेर काँग्रेस पार्टीभित्र चर्चा हुन थालेको छ ।

टिप्पणीहरू