‘कुनै पनि नामको तानाशाह स्वीकार्दैनौं’ : नागरिक आन्दोलन

‘कुनै पनि नामको तानाशाह स्वीकार्दैनौं’ : नागरिक आन्दोलन

बृहत् नागरिक आन्दोलनले भोलि फागुन ७ गते नौलो तरिकाले प्रजातन्त्र दिवस मनाउने भएको छ । सरकारले औपचारिक रुपमा प्रजातन्त्र दिवस मनाउने सैनिक मञ्चसँगैको टुँडिखेलमा दिउँसो २ बजे रत्नपार्कमा भेला भएर भद्रकाली, सहिद गेटबाट एक फन्को लगाउँदै न्युरोड गेट नजिकै रहेको टुँडिखेलको पश्चिम गेटबाट प्रदर्शनकारी मार्चपास गर्दै प्रवेश गर्ने कार्यक्रम राखिएको छ ।

तिनिख्यः मार्च नाम दिइएको भोलिको कार्यक्रममा सहभागी हुन आयोजकले ‘लोकतन्त्र लोकतन्त्र जस्तो रहेन, गणतन्त्र खास गणतन्त्र भएन । आउनुस् सत्तरी वर्षदेखि बाँकी रहेका सवाल उठाऔं ! सबैखाले प्रतिगमनविरुद्ध एकजुट होऔ’ भन्ने नाराका साथ आह्वान गरेका छन् ।

आन्दोलनले भनेको छ ‘टुँडिखेल नागरिकको हो, नागरिककै स्वामित्वमा आउनुपर्छ । टुँडिखेल अब बन्दुकको मौजा हुनुहुँदैन, शासकीय कर्मकाण्डको किल्ला हुनुहुँदैन, टुँडिखेल अब मुक्त हुनुपर्छ ।’

बृहत् आन्दोलनले रैतिबाट नागरिकमा फेरिएको फागुन ७ गतेको ऐतिहासिक क्षणलाई मनन गरेर पुनः रैती हुन इन्कार गरौं भनेको छ । भोलिको कार्यक्रममा सहभागी हुन आह्वान गरिएको अपिलमा भनिएको छ ‘विगतका सबै सामाजिक र राजनीतिक आन्दोलनलाई स्मरण गरौं र फेरि एक स्वरमा भनौं, हामी कुनै पनि नामको तानाशाह स्वीकार्दैनौं ।’

टिप्पणीहरू