प्रचण्डको सुरक्षार्थ पुनः पूर्व लडाकू
सरकारले नेकपा (बहुमत) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलको संख्या कटौति गरेपछि पूर्वजनमुक्ति सेनाका लडाकूले सुरक्षा दिन थालेका छन् ।
बैशाखमा हुने भनिएको आमनिर्वाचनको लागि थप सुरक्षाकर्मीको जोहो गर्ने नाममा सरकारले माघ २७ गतेदेखि बहाल तथा पूर्व अति विशिष्ट एवम् विशिष्ट व्यक्तिहरूको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी तान्ने निर्णय गरेसङ्गै प्रचण्डका सुरक्षाकर्मीको संख्या पनि घटेको हो ।
यसअघि खटिएकामध्ये १६ जना राखेर अरु सबै फिर्ता गरिएपछि फागुन १ गतेदेखि प्रचण्डलाई बा ९ च ६३९९ नम्बरको हरियो रंगको स्कोर्पियो गाडीले एस्कर्टिङ गरिरहेको छ । गाडीमा पूर्वजनमुक्ति सेनाको बेथानस्मृति ब्रिगेडका प्लाटुन कमाण्डर छिरिङ लामाको कमाण्डमा ८ जना पूर्व लडाकू छन् ।
सरकारको पछिल्लो निर्णयअनुसार राष्ट्रपति, प्रधानमन्त्री र गृहमन्त्रीबाहेक अधिकांशको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीको संख्या घटाइएको छ । त्यसमा पूर्वराष्ट्रपति,पूर्वराजा, पूर्वउपराष्ट्रपति र विपक्षी दलका नेतासमेत परेका छन् ।
टिप्पणीहरू