नागरिकता बोकेका कमरेडहरुको पेरिसडाँडामा भेला

नागरिकता बोकेका कमरेडहरुको पेरिसडाँडामा भेला

नेकपा (बहुमत) ले आफ्ना सबै केन्द्रीय सदस्यलाई सक्कल नागरिकतासहित आज मध्यान्ह १२ बजेभित्र अनिवार्य उपस्थितिको लागि आकस्मिक रूपमा बोलाएपछि केन्द्रीय समितिका सदस्यहरु धमाधम पार्टी कार्यालय पेरिसडाँडामा आउने क्रम जारी छ ।

निर्वाचन आयोगले कानुनबमोजिम गर्नुपर्ने निर्णयलाई अनावश्यक ढंगले लम्ब्याएपछि आफ्नो पार्टीको गम्भिर ध्यानाकर्षण भएकोले आजको भेला बोलाइएको केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले बताउनुभएको छ । उहाँले राज्यको संवैधानिक निकाय र त्यहाँका पदाधिकारीले गर्ने छलकपटपूर्ण व्यवहार आफूहरुलाई मान्य नहुने बताउँदै आयोगले कानुनबमोजिम ४ सय ४१ जना केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य जतातर्फ छ, त्यसको आधिकारिकता पनि त्यतै दिनुपर्ने उल्लेख गर्नुभएको छ ।

आफूहरुले राजनीतिक हिसाबले उक्त आधिकारिकतालाई पुष्टि गरिसकेकाले कानुनबमोजिम गर्नुपर्ने न्याय निरुपण तोकिएको समयभित्र आयोगले गर्नैपर्ने पनि झाँक्रीले उल्लेख गर्नुभयो ।

नेकपाका ४ सय ४१ सदस्यीय केन्द्रीय समितिका झण्डै दुई तिहाई सदस्य एकातर्फ हुँदाहुँदै पनि निर्वाचन आयोगले आधिकारिकता पुष्टिको लागि आलटाल गरेपछि नेकपा (बहुमत) ले सक्कल नागरिकतासहित आफ्ना केन्द्रीय सदस्यलाई आयोग पुर्याएर सनाखतको लागि दबाव दिन उक्त आह्वान गरेको बताइन्छ ।

टिप्पणीहरू