जीवन्त आन्दोलनको आगो भर्भराउने नागरिक अभियन्ताहरूको उद्घोष
प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो जनआन्दोलन घोषणा गरेको बृहत् नागरिक आन्दोलनले शुक्रबार टुँडिखेलमा मार्च गरेको छ । शंखधर साख्वा पार्कबाट सुरु भएको मार्च भद्रकाली, शहीदगेट हुँदै महाँकाल मन्दिरमा पुगेर सभामा परिणत भएको थियो ।
मार्चमा ‘जनताको हो टुँडिखेल’, ‘टुँडिखेल फिर्ता गर’, प्रतिगमन मुर्दावादलगायतका नारा लगाइएको थियो ।
सभालाई नागरिक आन्दोलनका अगुवाहरूले सम्बोधन गरेका छन् । प्रगतिशील लेखक तथा नागरिक आन्दोलनका अगुवा खगेन्द्र संग्रौलाले जनताले खुलामञ्च कब्जा गरेर त्यहाँबाट जंगीअड्डा धपाउने चेतावनी दिए ।
‘नागरिकको हुँकारले सैनिक अड्डलाई सहरको बीचबाट कतै एकान्तमा सारिनेछ । जंगी अड्डा एकलासमा जानुपर्छ । यो नागरिको ठाउँ हो,’ उनले भने ।
उनले विश्वमा एक जना पनि नागरिक रहेसम्म नागरिक आन्दोलन जारी रहने उद्घोष समेत गरे । उनले भने, ‘नागरिक आन्दोलन तबसम्म रहन्छ, जबसम्म एक जना मात्रै भएपनि दुनियाँमा नागरिक बाँकी रहन्छ ।’
त्यस्तै, वरिष्ठ पत्रकार तथा नागरिक आन्दोलनका अगुवा नारायण वाग्लेले सम्मृद्धिको नारा दिएर शासकहरूले समृद्ध उपत्यकालाई तहसनहस पारेको आरोप लगाए । उनले शासकहरू सत्तामा पुगेपछि जनताको बलिदानी बिर्सेर टुँडिखेल मासेको भन्दै अब नागरिक चुप लागेर नबस्ने चेतावनी पनि दिए ।
‘जब शासकहरू सत्तामा पुग्छन् अनि लोकतन्त्रमाथि प्रहार गर्छन् । तर, हामीलाई खुला टुँडिखेल चाहिन्छ,’ उनले भने, ‘दुई हजार वर्ष लगाएर समुदायले बनाएको काष्ठमण्डप के भयो ? राजकुलो कसले मास्यो ? यहाँका परिश्रमी जनतालाई खेती नगर भनेर खेतीयोग्य जमिन सिध्याउने काम कसले गर्यो ?’
उनले थप प्रश्न गरे, ‘आज शासकहरूलाई प्रश्न सोध्नुपरेको छ, ‘के ढुंगे धाराको पानी पिउनु ढुंगेयुगमा जिउनु हो ? जात्राको धनी भन्ने अनि गुठी मास्ने विधेयक ल्याउने ?’
वाग्लेले नेपालको इतिहास आन्दोलन र संघर्षको इतिहास रहेको बताउँदै जनताले स्वाधीन मानसिकतासहितको लोकतन्त्र खोजेको बताए । उनले नागरिकले शीर ठाडो पार्न सक्ने व्यवस्थाका लागि जीवन्त नागरिक आन्दोलनको आगो भर्भराउने पनि दाबी गरे ।
यसअघि बृहत् नागरिक आन्दोलनले १० बुँदे घोषणापत्र जारी गरेको थियो ।
टिप्पणीहरू